मंगलबार, असार १७, २०८२

डोटीमा बस दुर्घटना: ३ जनाको मृत्यु, ३२ घाइते

नेपालखोज २०७७ साउन २८ गते ९:५०

डाेटी । डाेटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको अहिले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताए ।

उनले भने, “हामी घटनास्थलमै घाइतेको उद्धार गरिरहेका छौं, घाइतेको सङ्ख्या अधिक छ, जिल्ला अस्पताल पठाउने तयारीमा छौं ।” बस सडकबाट ३० मिटर तल खसेको थियो । वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।   रासस

प्रतिक्रिया