बिहीबार, वैशाख १३, २०८१

वायुसेवा संचालकको चेतावनी – भदौ १६ बाट हवाई सेवा नखुले आन्दोलन गर्छौं

नेपालखोज २०७७ साउन २८ गते १४:००

काठमाडौं । भदौ १६ गतेबाट हवाई सेवा सञ्चालन गर्न नपाए आन्दोलनमा जाने वायुसेवा संचालक संघले बताएको छ । वायुसेवा संचालकहरुले भदौ १ गतेबाट हवाई सेवा सुरु गर्ने तयारी गरिसकेका छन् । सरकारले पहिले तोकिएको सञ्चालन मिति सारेर भदौ १६ पुर्याएपछि उक्त मितिबाट पनि सेवा संचालनमा नआए हवाई सेवा सञ्चालकहरुले आन्दोलनमा जाने घोषणा गरेका हुन् ।

कोरोना महामारीका समयमा उडानलाई ब्यवस्थित बनाउन डब्लुएचओ तथा आईकाओले निर्धारण गरेको मापदण्ड पुरा गर्दै नेपाल सरकारवाट निर्देशन भए बमोजिम वायुसेवा कम्पनीहरुले उडान संचालनका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको समेत संघले जनाएको छ । आन्तरिक उडानबाट संक्रमण फैलँदैन र यदि सरकारवाट संक्रमण परीक्षण गर्न चाहेको खण्डमा एउटै ठाउँमा सम्भव हुने र टिकेटिङ्ग सिष्टमबाट यात्रुहरुको कन्ट्रयक्ट ट्रेसिङ्ग गर्न पनि सहज हुने संघको दाबी छ ।

आन्तरिक हवाई सेवालाई तत्काल नचलाउने हो भने हवाई उद्योग नै बन्द हुने अवस्थामा पुग्ने बताइएको छ । आउँदो भदौ १६ गतेबाट हवाई सेवा पुनः संचालन नभएमा वाध्यतावश हामी आन्दोलित हुने अवस्था सृजना हुने संघले जनाएको छ ।

हवाई सेवा लामो समयसम्म बन्द भएका कारणले यस उद्योगमा आश्रित दशौं हजार श्रमिकको आयस्रोत तथा तिनमा आश्रित परिवारको रोजीरोटी नै बन्द हुनुका साथै हवाई उद्योग नै धरासायी बन्दै गईरहेको संघले बताएको छ ।

प्रतिक्रिया