भोलिदेखि पाँचौं चरणको चार्टर उद्धार उडान हुँदै
काठमाडौं । सरकारले पाँचौं चरणको चार्टर उद्धार उडान भोलिदेखि सुरु हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण विभिन्न मुलुकमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन सरकारले भोलीदेखि १५ भदौसम्म पाँचौं चरणको चार्टर उद्धार उडान सञ्चालन गर्न लागेको हो ।
यसअघि चैतबाट रोकिएको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान १ भदौबाट खोल्ने निर्णय भएकामा काठमाडौं उपत्यकासहित मुलुकभर कोरोना भाइरस संक्रमितको संख्या बढेपछि सरकार पूर्वनिर्णयबाट पछि हट्दै आगामी १५ भदौसम्म व्यावसायिक हवाई उडान बन्द गर्ने निर्णयमा पुगेको थियो ।
सिसिएमसी र अन्य विज्ञ सरोकारवालाको सुझावअनुरूप मन्त्रिपरिषद् बैठकले अझै आगामी १५ भदौसम्म नियमित व्यावसायिक हवाई उडान बन्द राख्ने निर्णय गरेको हो । सरकारले अबको चार्टर उद्धार उडानमा दैनिक पाँच सय जनालाई स्वदेश फर्काउने रणनीति बनाएको छ ।
चार्टर उडानका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र अर्को निजी कम्पनी हिमालय एयरलाइन्ससहित अन्य विदेशी वायुसेवा प्रयोग हुनेछन् । सरकारले पुनः थालनी गर्ने पाँचौं चरणको उद्धार उडानबाट कम्तीमा ७ हजार नेपाली स्वेदश फर्किन पाउनेछन् । नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले उद्धार उडान तालिकासमेत बनाइसकेको छ ।
युरोप र अमेरिकामा अलपत्र परेका नेपालीका लागि भने टर्किस एयरलाई अनुमति दिइएको छ । यीबाहेक कतार एयर, फ्लाई दुबई, मालिन्दो एयर, जजिरा एयरवेज, कोरियन एयर, एयर अरेबिया, इतिहाद एयरवेज र सिल्क एयरलाई पनि चार्टर उद्धार उडान अनुमति दिइएको मन्त्रालयले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले अनुमति पाएका सबै वायुसेवाले अलपत्र नेपालीलाई स्वदेश फर्काउन गन्तव्य मुलुकबाट उद्धार उडान भर्ने बताए ।
अनुमति दिइएका गन्तव्यमा दुबईका लागि ८ वटा उडान, दोहाका लागि ७, क्वालालम्पुर ६, दमाम र आबुधाबी पाँच÷पाँच, कुबेत ३, रियाद र सारजाहा दुई(दुई र जेद्दा, जापान, कोरिया र अस्ट्रेलिया एक(एक गरी ४३ वटा उडान रहेका छन् । सरकारले यसअघि ३ सय २३ वटा चार्टर उद्धार उडानबाट ५० हजार ६ सय ६२ जना नेपालीलाई स्वदेश फर्काइसकेको छ । अझै लाखौं नेपाली फर्किने प्रतीक्षामा रहेका छन् ।

प्रतिक्रिया