कोरोना कहर : भारतमा मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो
काठमाडौं । विश्वमै महामारीकारुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ ।हालसम्म त्यहाँ ५१ हजार ९ सय २५ जनाको मृत्यु भइसकेको छ । हालसम्म २७ लाखमा भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।
त्यसमध्ये १९ लाखभन्दा बढी निको भइसकेका भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गएको एक दिनमा मात्र कोरोनाले ९ सय ४१ जनाको ज्यान लिएको छ । योसँगै कुल मृत्यु हुने ५० हजार ९ सय २१ पुगेको हो । विश्वका कोरोना भाइरसले संक्रमित मुलुकहरूमध्ये भारत, अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । त्यसैगरी कोरोना संक्रमणबाट बढी मृत्यु हुने मुलुकहरूमा भने चौथो नम्बरमा रहेको छ ।
बढी मृत्यु हुने मुलुकहरूमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा मेक्सिको रहेको छ । भारतमा पछिल्लो सातामात्रै सवा ४ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । सोमबार मात्र थप ५८ हजार जनामा संक्रमण पहिचान भएको छ । भारतमा जुन १ यता लकडाउन हटेसँगै कोरोना संक्रमण उच्च दरमा बढिरहेको छ । प्रदेश र केन्द्रशासित राज्यहरूमध्ये सबैभन्दा उच्च संक्रमण हुनेमा महाराष्ट्र पर्छ । उक्त राज्यमा हालसम्म करिब ६ लाख जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यसपछि तमिलनाडु, आन्ध्र प्रदेश, कर्नाटक र उत्तरप्रदेश छन् ।
पूर्वराष्ट्रपतिको अवस्था अझै गम्भीर
कोभिड–१९ संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था अझै गम्भीर रहेको छ । उनी उपचारार्थ दिल्लीको सैनिक अस्पतालले मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर नै रहेको र भेन्टिलेटरमा राखिएको जनाएको छ । ‘प्रणव मुखर्जीको अवस्था अझै गम्भीर छ । भाइटल एवं क्लिनिकल प्यारामिटर्सहरू स्थिर छन् । उनलाई भेन्टिलेटरमा राखिएको’ अस्पतालद्वारा सोमबार बिहान जारी हेल्थ बुलेटिनलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यद्यपि मुखर्जीका छोरा अभिजितले भने उनको स्वास्थ्यमा सुधार भइरहेको जनाएका छन् । ‘मैले हिजो बुबालाई भेटेको थिएँ । भगवान्को कृपा र सबैको शुभकामनाले उहाँलाई राम्रो हुँदै गएको छ । उहाँको शरीरले उपचारलाई प्रतिक्रिया जनाइरहेको छ । हामीलाई उहाँ चाँडै फर्किनुहुन्छ भन्नेमा पूर्ण विश्वास छ,’ अभिजितले सोमबार बिहान ट्वीटमा भनेका छन् ।
प्रतिक्रिया