शुक्रबार, असार १३, २०८२

४१ अर्ब राजस्व सङ्कलन

नेपालखोज २०७७ भदौ २ गते १६:१९

काठमाडौं । मोरङमा आर्थिक वर्ष २०७६/७७ मा कूल रु ४१ अर्ब तीन करोड ७६ लाख राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ ।

यो राजस्व आर्थिक वर्ष २०७५/७६ को भन्दा ६ अर्ब २० करोड ५८ लाखले कम हो भने आर्थिक वर्ष २०७४/७५ को भन्दा ६३ करोड ३६ लाखले बढी हो । आर्थिक वर्ष २०७५/७६ मा कूल ४७ अर्व २४ करोड ३४ लाख र आर्थिक वर्ष २०७४/७५ मा ४० अर्ब ४० करोड ४० लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

गएको आर्थिक वर्षमा चैत महिनाको ११ गतेदेखि शुरु भएको बन्दाबन्दीले आर्थिक क्रियाकलाप ठप्प हुनु, निर्माणको कार्य रोकिनु, बजार बन्द रहनुले पनि राजस्व कम उठेको प्रमुख पर्शुराम नेपालले जानकारी दिए । उनले गएको वर्षमा पूँजीगत बजेट ३ अर्ब ९४ करोड ५६ लाख रुपैयाँमा ३ अर्ब १३ करोड ८७ लाख रुपैयाँ अर्थात् ७९ दशमलव पाँच प्रतिशत खर्च भएको जानकारी दिए । सोही वर्ष चालूतर्फ ३१ अर्ब ८० करोड १५ लाख बजेट रुपैयाँमध्ये ३१ अर्ब १३ करोड २२ लाख रुपैयाँ खर्च भएको बताइएको छ ।

आर्थिक वर्षमा २०७५/७६ मा कूल ३० अर्ब ८४ करोड ७५ लाख वार्षिक बजेटमा २९ अर्ब ४४ करोड २१ लाख निकासा भएको थियो । पूँजीगततर्फ रु चार अर्ब ७५ करोड ३० लाख वार्षिक बजेटमा ३ अर्ब ५७ करोड ७८ लाख निकासा भएर ७५ प्रतिशत प्रगति हासिल गरेको थियो भने सोही अवधिमा चालू र पूँजीगत गरी कूल ३५ अर्ब ६० करोड पाँच लाखमा रु ३३ अर्ब एक करोड ९९ लाख निकासा भई ९३ प्रतिशत प्रगति हासिल भएको थियो । रासस

प्रतिक्रिया