मंगलबार, जेठ ८, २०८१

लकडाउन हटेको एक महिना : सङ्क्रमण र मृत्युदर अति उच्च

नेपालखोज २०७७ भदौ ७ गते १७:५९

काठमाडौं । विश्व्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमण बन्दाबन्दी सकिएपछिको एक महिनामा निकै उच्च गतिमा वृद्धि भएको छ । मृत्युदर र सङ्क्रमण दर जुन गतिमा बढिरहेको छ, त्यसको तुलनामा निको हुने दर भने निकै न्यून छ । एक महिनाअघि निको हुने दर कुल सङ्क्रमितको ६९ दशमलव ३४ प्रतिशत थियो । एक महिनापछि निको हुने दर ५९ प्रतिशतमा झरेको छ ।

सरकारका प्रवक्ता डा युवराज खतिवडाले गत साउन ५ को मन्त्रिपरिषद्को निर्णयअनुसार साउन ६ गते रातिदेखि बन्दाबन्दी हटेको घोषणा गरेका थिए । त्यसको आज एक महिना पूरा भएको छ । यही एक महिनाले विगतका सबै महिनाको भन्दा सङ्क्रमण र मृत्युदरमा नसोचेको परिणाम दिएको छ । स्थिति जटिलतातर्फ गइरहेकाले नागरिकले उच्च सावधानी अपनाउनु जरुरी रहेको जनस्वास्थ्य विज्ञले बताएका छन् ।

सन् २०१९ डिसेम्बर ३१ मा चीनको उहानमा देखिएको कोभिड–१९ नेपालमा विसं २०७६ माघ ९ गते त्यहीँबाट आएका एक नेपालीमा देखा परेको थियो । त्यसपछि चैत १० गते तेस्रो मुलुकबाट आएका दोस्रो नेपालीमा देखिएको थियो । त्यसपछि सङ्क्रमण फैलिन नदिन सरकारले चैत ११ देखि बन्दाबन्दी जारी गरेको थियो । क्रमशः सङ्क्रमण वृद्धि हुँदै वैशाख अन्तिम सातादेखि तीन अङ्कमा सङ्क्रमण देखिन थालेको थियो ।
असारमा केही कमी देखिएपछि सरकारले चार महिना लामो बन्दाबन्दीलाई साउन ६ गतेदेखि अन्त्य गरेको थियो । बन्दाबन्दी अन्त्य भएर गतिविधि चलायमान हुँदा मुलुकका सबै जिल्लामा मानिसहरु विनासावधानी घुलमिल भए । त्यसैको परिणाम अहिले देखिन थालेको छ । अहिले एकैदिन ११ जनासम्मको मृत्यु भएको र एकै दिन एक हजार बढी नयाँ सङ्क्रमित भेटिएका छन् । रासस

प्रतिक्रिया