उपत्यका निषेधाज्ञा : भदौ १५ सम्म लम्ब्याउन मेयरहरुको सुझाव
काठमाडौं । उपत्यकामा भदौ १५ सम्म निषेधाज्ञा लम्ब्याउन मेयरहरुले सुझाव दिएका छन् भने उपत्यका नगरपालिका मेयर फोरमले स्थानीय तहले दिने अत्यावस्यक बाहेकका सबै सेवा भदौ १५ गते सम्म बन्द गर्ने निर्णय पनि गरेको छ ।
बैठकले निषेधाज्ञाको स्थितिलाई पनि भदौ १५ गते सम्म कायम गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिने निर्णयसमेत गरेको छ । उपत्यका मेयर फोरमको सोमबार काठमाडौंमा बसेको बैठकले काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमणको अवस्था अझै कम नभएकाले अत्यावस्यक बाहेकका सबै सेवा बन्द गर्ने यस अघिको निर्णयलाई भदौ १५ गते सम्म निरन्तरता दिने निर्णय गरेको हो ।
उपत्यकाभित्र संक्रमणको दर अझैपनि कम नभएकाले अत्यावस्यक बाहेकका सबै सेवा भदौ १५ गते सम्म बन्द गर्ने निर्णय भएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए । यसअघि साउन २६ गतेको बैठकले भदौ ९ गते सम्म अत्यावस्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो ।
यसबाहेक कोभिड १९ संक्रमित व्यक्तिको कन्टयाक्ट ट्रेसिङमा परेका सबै मानिसको पीसीआर परिक्षण स्वास्थ्य मन्त्रालय अन्तर्गतको ‘केस इन्भेष्टिगेसन एण्ड कन्टयाक्ट ट्रेसिङ’ (सिआइसीटी) सँगको सहकार्यमा सम्पन्न गर्ने निर्णय पनि गरेको छ । उपत्यकाभित्र संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबै मानिसहरुको पीसीआर परीक्षण गर्न आवश्यक रहेको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन् ।
अहिले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको पीसीआर परीक्षण नभएकाले स्वास्थ्य मन्त्रालयको टिमसँग समन्वय गरी क्लोज कन्ट्याक्टमा रहेका सबै मानिसहरुको एकपटक परीक्षण गर्ने निर्णय गरिएको शाक्यले बताए।
प्रतिक्रिया