उपत्यकामा निषेधाज्ञा अवधि थप्न प्रशासनको संयुक्त बैठक बस्दै

नेपालखोज २०७७ भदौ ९ गते ७:१४

काठमाडौं । उपत्यकामा कोरोना संक्रमणदर बढ्न थालेपछि भाद्र ४ गते मध्य रातिदेखि लागु हुनेगरि जारी गरिएको निषेधाज्ञाको अवधि भोली मध्यराति सकिँदैछ ।

अहिलेसम्मको स्थितिबारे समीक्षालगायत निर्णय लिन उपत्यकास्थित काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनको संयुक्त बैठक आज बस्दै छ । उपत्यकामा जारी गरिएको निषेधाज्ञाको अवधि थप गर्ने तयारी पनि भएको बुझिएको छ । बैठकले १० गतेसम्म जारी गरिएको निषेधाज्ञाको अवधि बढाउनेबारे निर्णय गर्नेछ ।

त्यसअघि प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) र उपत्यकाभित्रका स्थानीय तहसँग पनि यसबारे संयुक्त रूपमा छलफल गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहालले बताए । उपत्यका मेयर फोरमको हिँजो काठमाडौंमा बसेको बैठकले काठमाडौं उपत्यकामा कोभिड–१९ संक्रमणको अवस्था अझै कम नभएकाले अत्यावस्यक बाहेकका सबै सेवा बन्द गर्ने यस अघिको निर्णयलाई भदौ १५ गतेसम्म निरन्तरता दिन डिसीसीएमसीलाई सुझाव दिने निर्णय गरेको थियो ।

यसअघी सोमबार उपत्यका नगरपालिका फोरमले पनि भदौ १५ गतेसम्मका लागि स्थानीय तहबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा स्थगनको निर्णय गरेको छ । फोरमले निषेधाज्ञा भदौ १५ गतेसम्म बढाउन पनि सिफारिस गरेको छ । फोरमको सिफारिस मंगलबार प्रशासनसँगको संयुक्त बैठकमा पेस गरिनेछ ।

प्रतिक्रिया