बुधबार, असार १८, २०८२

पाटन, बाँके र विराटनगरमा गरि थप तीन संक्रमितको मृत्यु

नेपालखोज २०७७ भदौ १० गते ८:५६

काठमाडौं । पाटन बाँके र विराटनगरमा गरि थप तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पाटन अस्पतालमा गए राति काठमाडौंका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरले जनाए अनुसार ५४ वर्षीय पुरुषको गए राति साढे ९ बजे मृत्यु भएको हो । साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका उनको पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

त्यस्तै विराटनगर महानगरपालिका–११ मा बस्दै आएकी ४४ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणका कारण गए राति मृत्यु भएको छ । मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा राति ८ बजेतिर श्रेष्ठ थरकी महिलाको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरले जानकारी दिए ।

उनकाअनुसार श्वासप्रश्वासमा समस्या भएपछि ती महिलालाई दिउँसो उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । स्वाब संकलन गरेर कोशी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्ट महिलाको मृत्यु हुनुभन्दा केही बेरअघि मात्रै पोजेटिभ आएको थियो । रिपोर्ट पोजिटिभ आएर कोरोना पुष्टि भएको केही बेरमै उपचाररत महिलाको मृत्यु भएको हो ।

त्यस्तै बाँकेमा कोरोनाबाट पाँचौ व्यक्तिको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठकाअनुसार, गएराति नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ३७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

प्रतिक्रिया