शुक्रबार, चैत ७, २०८१

२० सैनिकसहित गण्डकी प्रदेशमा ३२ सङ्क्रमित थपिए

नेपालखोज २०७७ भदौ १० गते १०:५७

पोखरा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण बढेको छ । केही दिनयता यहाँका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहे पनि सङ्क्रमण घटेको छैन । सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीमा समेत सङ्क्रमण देखिएको छ ।

Advertisement

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बिहान प्रदेशका कास्की, लमजुङ र नवलपरासीमा गरी दुई महिला र ३० पुरुष गरी ३२ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । कास्कीमा दुई सङ्क्रमितमध्ये एक जना अस्पतालमा कार्यरत सुरक्षागार्ड र अर्का विदेशबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्ति छन् । कास्कीमा दुई सङ्क्रमितमध्ये एक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र अर्का विदेशबाट आएर क्वारेन्टिनमा बसेका व्यक्ति छन् ।

लमजुङमा २३ जना थपिएकामा २० पुरुष नेपाली सेनामा कार्यरत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । लमजुङका सङ्क्रमित अर्का एक पुरुष बेँसीशहरमा एक बैंकमा कार्यरत रहेको बताइन्छ । नवलपरासी बर्दघाट सुस्तापूर्वको गैँडाकोट र कावासोतीमा गरी सात जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

हालसम्म प्रदेशमा सङ्क्रमित १ हजार ९ सय ४५ पुगेका छन् भने १ हजार ६ सय ४३ जना निको भएका छन् । प्रदेशमा सङ्क्रमणबाट निको हुने दर ८४ दशमलव ४७ प्रतिशत रहेको छ । हालसम्म आठ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । प्रदेशमा अहिलेसम्म ४१ हजार ४०० जनाको पिसीआर विधिबाट कोरोना परीक्षण गरिएकामा ३९ हजार ४ सय ५५ मा सङ्क्रमण देखिएको छैन । पछिल्लो समय यहाँका प्रयोगशालामा दैनिक एक हजार हाराहारीमा परीक्षण हुने गरेकाले नतिजा आउन बाँकी नमूना ‘पेन्डिङ’ रहेको छैन ।   रासस

प्रतिक्रिया