सरकारी अकर्मण्यता र संवेदनहीनताले कोरोना संक्रमण नियन्त्रणबाहिर गयो : कांग्रेस
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारी अकर्मण्यता र संवेदनहीनताले कोरोना संक्रमण नियन्त्रणबाहिर जाने अवस्थामा पुगेको जनाएको छ ।
पार्टीद्वारा गठित कोभिड–१९ अनुगमन समितिले आज ‘प्रेस नोट’ जारी गर्दै सरकारी अकर्मण्यता र संवेदनहीनताले संक्रमण नियन्त्रणबाहिर जाने खतरा उत्पन्न भएको आरोप लगाएको हो ।
समितिले कोरोना संक्रमण नियन्त्रणका लागि सरकार दिशाविहीन र योजनाविहीन रहेको पनि आरोप लगाएको छ । आर्थिक र सामाजिक असर सम्बोधन गर्न ठोस योजना नरहेको भन्दै नागरिकको जीवन संकटमा पर्नुमा सरकार जिम्मेवार रहेको समितिका सदस्य नैनसिंह महरले आरोप लगाए ।
त्यस्तै, समितिले कोरोना महामारीसम्बन्धी सरकारलाई १३ बुँदे ध्यानाकर्षण गराएको छ । समितिले कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक अक्सिजन र भेन्टिलेटरको व्यवस्था गर्न, स्वास्थ्यकर्मीलाई बिमा व्यवस्था कार्यान्वयन र जोखिम भत्ता उपलब्ध गराउन, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको उद्धार तथा उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया