कोरोना कहर : त्रास मात्र होइन अवसर पनि हो
विश्व समुदाय नै आज कोभिड–१९ को समस्याबाट आक्रान्त भएको छ । दैनिक रूपमा बढ्दै गएको सङ्क्रमण र मृत्युको गणनासम्बन्धी समाचारले सबैलाई भयभित बनाएको छ । आजसम्म विश्वभरी झण्डै साढे २ करोड जति सङ्क्रमित भइसकेका छन् भने ८ लाख ३० हजार जनाले ज्यान गुमाईसकेका छन् । सन् २०१९ को डिसेम्बर महिनाको अन्तिम दिन चीनको वुहान सहरबाट सुरू भएको कोरोना सङ्क्रमणको समस्या छिट्टै नियन्त्रण हुने छाँटकाँट देखिँदैन । विश्वका थुप्रै देशमा अनुसन्धान गर्ने संस्था र वैज्ञानिकहरु यसको रोकथाम तथा उपचारका लागि खोपको खोजी कार्यमा अहोरात्र जुटिरहेका छन् । तर, खोप कहिलेसम्म तयार हुने हो भन्ने कुरा निश्चत छैन । यसले आम जनमानसलाई थप त्रसित तुल्याएको छ, चारैतिर कहर मच्चाएको छ । तर, ‘कहिलेसम्म डराएरै बस्ने त’ भन्ने प्रश्न महत्वपूर्ण छ । अहिलेको समयमा कोरोनाका चुनौतीहरुसँग कसरी जुझ्ने र यो कहरलाई कसरी अवसरमा बदलेर परिवर्तनको लागि उपयोग गर्ने भन्नेबारे सोच्नु जरुरी छ । यसै सवालमाथि केन्द्रित रही यो लेख तयार पारिएको छ ।
कोरोना सङ्क्रमणका कारण जनमानसमा त्रास बढ्दो छ । कोबाट कतिखेर सङ्क्रमित भइने हो भन्ने डरले सबैको होस उडेको अवस्था छ । सङ्क्रमण होला भन्ने भयले एकै परिवारका सदस्यहरुबीच पनि दुरी कायम राख्नुपर्ने स्थिति छ । कोरोनाकै कारण मृत्यु हुनेका परिवारले शोक मनाउन पाएका छैनन् भने आफ्नो संस्कृति अनुसार मृतकको काजक्रिया गर्न सकिएको छैन । शैक्षिक संस्था बन्द भएका छन्, उद्योगधन्दा, व्यापार, व्यवशाय ठप्प भएको छ । बालबालिका, युवा, वयस्क सबैजना घरभित्र थुनिएका छन् । केहीको रोजगारी गुमेको छ र रोजगारी हुनेहरुको पनि पारिश्रमिकमा कटौती भएको छ । धेरै परिवार दैनिक खर्च चलाउन नसक्ने अवस्थामा पुगेका छन् । यसले सिंगो देशकै अर्थतन्त्रमा नकारात्मक असर पार्ने निश्चित छ । यसरी कोभिड–१९ ले समुदायमा मनोवैज्ञानिक त्रास बढाउनुका साथै परिवार र सिंगो देशकै आर्थिक अवस्थालाई डामाडोल बनाइदिएको छ । आम मानिसका लागि योभन्दा ठूलो पीडा अरू के नै हुन सक्छ र !
पछिल्लो तथ्याङ्क अनुसार धेरैजसो सङ्क्रमितमा लक्षण त देखिएको छैन तर, लक्षण नदेखिएका व्यक्तिबाट पनि सङ्क्रमण हुन सक्ने भएकोले सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गईरहेको अनुमान गर्न सकिन्छ । गत भाद्र ७ गतेको स्वास्थ्य मन्त्रालयको सूचनाअनुसार विश्वव्यापि रूपमा सङ्क्रमणको तथ्याङ्क हेर्दा करिब २८ प्रतिशत सङ्क्रमितहरूमा साधारणदेखि गम्भीर लक्षण देखिएका छन् भने कोरोनाकै कारण ३.४ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा पनि स्थिति भयावह हुँदै गएको छ । झण्डै साढे ३५ हजार सङ्क्रमित भएका छन् भने १८३ जनाले ज्यान गुमाइसकेका छन् ।
सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या बढ्नु अत्यन्तै दुःखदायी हो । तथापि, यसलाई अर्को तरिकाले पनि हेर्न सकिन्छ । ‘दुःखमा नआत्तिनु, सुखमा नमात्तिनु’ भन्ने पूर्खौदेखि चल्दै आएको उखान अहिलेको अवस्थामा अत्यन्तै महत्वपूर्ण देखिन्छ । नेपालमा हालसम्म सङ्क्रमित हुनेमध्ये ५६.७ प्रतिशत निको भइसकेका छन् । कुल सङ्क्रमितमध्ये ०.५ प्रतिशतको मात्र मृत्यु भएको छ, जुन विश्वको मृत्युदर (३.४%)को तुलनामा धेरै कम हो । अब हामीले के कारणले सङ्क्रमितहरुमा लक्षण नभएको हो, सङ्क्रमितहरु निको हुनुमा कुन औषधि वा खाना वा उनीहरुको दैनिकीले भूमिका खेलेको छ भन्ने पत्ता लगाएर निको हुने दरलाई अझै बढाउनका लागि विभिन्न सरोकारवालाहरुसँग सहकार्य गर्नुपर्ने हुन्छ ।
कोरोना सङ्क्रमणका कारण देशका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द भएको अवस्था छ । तर, यस्तो अवस्थामा पनि थुप्रै शिक्षण संस्थाले ‘अन–लाईन कक्षा’मार्फत् आफ्ना विद्यार्थीहरुसँगको शिक्षण प्रक्रिया अगाडि बढाइरहेको र त्यसले थुप्रै सकारात्मक प्रभाव पारेको खबर सुन्नमा आएको छ । अहिलेको सङ्कटले वैकल्पिक शिक्षण प्रणालीको प्रयोग गर्ने र यसबाट सिक्ने अवसर प्रदान गरेको छ । ‘अन–लाईन’ विधिलाई शिक्षणका साथसाथै औपचारिक तालिम र प्रविधि, ज्ञान र सीप जस्ता कुराहरु समुदाय तहमा सहज रुपमा लैजानका लागि उपयोग गर्न सकियो भने मुलुकको विकासको लागि योगदान पु¥याउन सकिन्छ ।
कोरोनाका कारण मुलुक लगभग ६ महिनादेखि बन्दाबन्दीको अवस्थामा छ । उद्योगधन्दा, कलकारखाना, होटल, रेस्टुराँ लगायत अन्य व्यवसाय ठप्प भएका छन् । यसले चरम वेराजगारीको सृजना गरेको छ भने मानिसहरु छिट्टै भोकमरीबाट प्रताडित हुने हुन् कि भन्ने सवाल खडा गरेको छ । यसले व्यक्ति, परिवार र सिंगो देशलाई नै आर्थिक समस्याको चपेटामा पारेको छ र यो समस्या दिनदिनै बढ्ने क्रममा छ । तर, विदेश र देशका विभिन्न शहरहरुमा रहेका युवाहरु गाउँ फर्केर खेती किसानीमा सक्रिय रहेको कुराहरु विभिन्न अखबारहरुमा दिनहुँ पढ्न पाइन्छन् । यो सकारात्मक खबर हो । यो वर्ष पहिलेपहिले जस्तो गाउँका अधिकांश भागमा जमिन बाँझो नरहेको भन्ने बुझिएको छ । यसले देशको कुल अन्न उत्पादन बढाउँछ भन्ने आशा गर्न सकिन्छ । यसलाई आगामी वर्षहरुमा पनि कसरी निरन्तरता दिने भन्ने रणनीति बनाई लागु गर्न सकिन्छ ।
युवाहरुलाई बैकल्पिक सीप विकासको अवसर प्रदान गर्न सकिएमा युवा रोजगारी बढ्नेछ । यसको लागि गाउँमुखी उद्योगधन्दाको सुरुआत गर्न सकिन्छ । धरासायी अवस्थामा पुगेका परम्परागत ज्ञान र सीपलाई ब्युँताउन सकिएमा स्थानीय तहमा नै आम्दानी बढाउन सकिन्छ । अहिले स्थानीय सरकारले केन्द्रबाट स्रोत पाएका छन् र उक्त स्रोतलाई स्थानीय आवश्यकता अनुसार उपयोग गर्ने अधिकार पाएका छन् । यो अधिकारलाई प्रभावकारी तरिकाले प्रयोग गर्न सकिन्छ । युवाहरू आधुनिक कुषिविज्ञानमा आर्कषित भएका छन् । उनीहरुको जोश, जाँगर र ज्ञानलाई कृषिको आधुनिकीकरणका लागि स्रोतको प्रयोग गर्न ढिलाई गर्नु हुँदैन ।
कोरोना भाइरसकै कारण मानिसहरु विदेशबाट आयातित खाद्य सामग्रीप्रति होसियार हुन थालेका छन् । यसले उनीहरुमा ‘आफ्नो घरबारीमा अन्न, तरकारी, फलपूmल उत्पादन गरेर खानु वेश हुन्छ’ भन्ने जागरण पैदा गराएको छ । शहरबजारतिर पनि कौशीखेती, करेसाबारी लगायत अन्य नविन प्रकारका खेती प्रणालीको सुरुआत भएको छ । यो अत्यन्तै महत्वपूर्ण सङ्केत हो । यसलाई राज्यले गम्भीरतापूर्वक लिई आममानिसको त्यो भावनालाई स्थानीय उत्पादन प्रणालीका लागि उपयोग गर्न सक्नुपर्छ ।
नागरिकहरुलाई स्वस्थवद्र्धक आनीबानी सिकाउन स्वास्थ्य क्षेत्रमा वर्षौंदेखि ठूलोमात्रामा धनरासीको लगानी भईरहेको थियो । सरकारको स्वास्थ्य शिक्षा तथा सूचना प्रणालीको प्रमूख उद्देश्य पनि नागरिकहरुलाई स्वस्थ बनाउनु हो । आमनागरिकलाई स्वस्थकर बानीब्यहोेराको महत्वबारे चेतना जगाउन र त्यसको अभ्यास गराउन विगतमा थुप्रै कार्यक्रमहरू गरिएका थिए । तर, अपेक्षाकृत उपलब्धि भएको थिएन । स्वास्थ्य शिक्षाको महत्व आमजनमानसमा महसुस गराउन सकिएको थिएन । तर, कोरोना सङ्कटले मानिसहरुलाई झकझकाएको छ । डरकै मनोविज्ञानले भए तापनि अहिले मानिसहरू धेरै सचेत भएका छन् । सामान्य मानिसहरुले पनि स्वास्थ्यबारे सोधीखोजी गर्न थालेका छन् । मास्क लगाउनु पर्छ भन्ने बुझेका छन् । सङ्क्रमितहरुबाट टाढा रहनुपर्छ भन्ने जानेका छन् । व्यक्तिगत सरसफाईको महत्व महसुस गरेका छन् । मानिसहरुले हिजोआज दिनमा धेरै पटक हात धुन थालेका छन् । आफ्नो वासस्थान सफा गर्न थालेका छन् । कार्यालय, अस्पताल, चोक, बजार र सार्वजनिक स्थलहरुमा सरसफाईको व्यवस्थापनको लागि संरचना निर्माण गरिएको छ । वर्षौको लगानीमा हुन नसेको परिवर्तन सङ्कटको एकै झट्काले ल्याइदिएको छ । स्वास्थ्यसम्बन्धी सोच र अभ्यासमा आएको यस परिवर्तनलाई कसरी निरन्तरता दिने र स्थायी तुल्याउने भन्ने सवालमाथि कार्य गर्नुपर्छ । जनस्वास्थ्यका हिसाबले यसलाई कोरोनाले प्रदान गरेको अवसरको रुपमा लिनु पर्दछ ।
कोरोनाको रोकथाम तथा उपचारको लागि खोप निर्माण कार्यमा विश्व लागेको छ । यसले ‘अहिलेको सङ्कट समाधानका लागि विश्व एकसाथ छ’ भन्ने सन्देश दिएको छ । तापनि खोप निर्माण नहुन्जेल वैकल्पिक उपायहरुको खोजीमा लाग्नुपर्ने भएको छ । केही दिनअघि राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित समाचार अनुसार त्रिभुवन विश्वविद्यालय परिसरमा स्थापित ‘नेपाल आर्युवेदिक अनुसन्धान तथा तालिम केन्द्र’मा राखिएका कोरोना सङ्क्रमितहरु प्राय सबैजना नै एक हप्ताभित्रमा निको भएर घर फर्किएका छन् । यो ठूलो उपलब्धि हो र यसमा उक्त केन्द्रले प्रयोग गरेको आयुर्वेदिक औषधिको महत्वपूर्ण भूमिका छ । तसर्थ, कोरोना भाइरसको लागि मात्र होइन अन्य स्वास्थ्य समस्याको लागि पनि आयुर्वेदिक उपचार विधि र औषधिबारे वृहत अनुसन्धान गर्नुपर्छ भन्ने महसुस गराएको छ । यसलाई कोरोना सङ्कटले देखाएको अर्को ठूलो अवसरको रुपमा लिई आगामी दिनमा अनुसन्धान कार्यलाई अगाडि बढाउनु पर्दछ ।
कोरोना सङ्कटको घडीमा राज्यको भूमिका जस्तो हुनुपथ्र्यो र जुन गम्भीरताका साथ आवश्यक थियो, सो अनुसार हुन सकेको देखिँदैन । यही समयमा राजनैतिक दलहरु शक्तिको खिचातानीमा व्यस्त छन् भने आर्थिक भ्रष्टाचार बढेको खबर दिनहुँ आइरहेका छन् । तर, अर्कोतर्फ कोरोना सबैको साझा सवाल बनेको छ र नागरिकहरु कोरोनाको यस राष्ट्रिय सङ्कटसँग जुझ्न एकवद्ध भएका छन् । विशेषतः युवाहरु सक्रिय रुपमा अगाडि देखिएका छन् । सङ्कटले सृजना गरेको अभावमा परेकाहरुलाई खाना खुवाउने, अस्पताल पु¥याउने, उपचारका लागि सहयोग गर्ने र समुदाय तहमा सचेतना जगाउने कार्यमा सक्रिय भएका छन् । नागरिकहरुले वर्तमान अवस्थामा राज्यको भूमिकामाथि प्रश्न उठाउन थालेका छन् र राज्यलाई आफ्नो जिम्मेवारी पुरा गर्नका लागि झकझकाउन थालेका छन् । कतिपय अवस्थामा नागरिक तहबाट भएका यी प्रयासहरु नकारात्मक जस्तो देखिए तापनि अन्ततोगोत्वा यसले सङ्कटसँग जुझ्न मद्दत नै गर्दछ । कोरोनाको कहरले नागरिक तहमा देखिएको यो जागरुकता र ऐक्यवद्धताले समस्या समाधानको लागि अवसर हुन सक्छ । यो तहको जागरुकता र एक्यवद्धतालाई राष्ट्रनिर्माणमा कसरी उपयोग गर्ने भनी अन्तरक्रिया गरेर रणनीति तयार पारी त्यसको प्रभावकारी कार्यान्वयन गर्नु जरुरी छ ।
तसर्थ, अहिलेको अवस्थामा सङ्क्रमणबाट बच्न व्यक्तिगत सरसफाईलाई ध्यान दिने, भौतिक दुरी कायम राख्ने र मास्कको अनिवार्य प्रयोग गर्ने कार्य गर्नु त पर्छ नै, यसका साथै कोरोनाका कारण सिर्जित यस सङ्कटलाई त्रासदीको रुपमा नलिई यसलाई राष्ट्रनिर्माणको लागि अवसरको रुपमा उपयोग गर्नु नै हामी सबैको बुद्धिमानी हुनेछ ।
‘विभिन्न अनुसन्धान कार्यमा सङ्लग्न लेखक हाल नेपाल स्वास्थ्य विज्ञान अध्ययन संस्थान (स्तुपा कलेज)मा प्राध्यापन गर्नुहुन्छ’
प्रतिक्रिया