बुधबार, असोज २, २०८१

वास्तविक मजदुर किन बहिष्कृत ?

सुनील सापकोटा २०७९ वैशाख १८ गते ८:००

आज अङ्ग्रेजी तारिखको मे १ हो । सन् १८८६ मा अमेरिकाको सिकागो सहरमा श्रमिकहरुले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखी आन्दोलनको सुरुवात गरेका थिए । त्यसैको सम्झनामा मे दिवस दुनियाँभर बर्सेनि मनाउने गरिन्छ । हुन त त्योभन्दा अगाडि पनि फान्समा मजदुरहरुले आन्दोलन गरेको इतिहास पाइन्छ । दुनियाँमा सामन्तवादको अन्त्य र पुँजीवादको उदयसँगै श्रमिक आन्दोलनको सुरुवात भएको हो । अन्तर्राष्ट्रिय रुपमा आज संसारका प्रायः सबै मुलुकले श्रम दिवस वा मजदुर दिवस मनाउने गर्छन् ।

हाम्रो देश नेपालमा पनि २०२० सालदेखि मे दिवस मनाउने गरिए पनि यहाँ यो एउटा कर्मकाण्डमा मात्रै सीमित छ । किनभने म स्वयं पनि करिब १२/१४ वर्षजति `ट्रेड युनियन´ र बैंक युनियनको विभिन्न पदमा बसी काम गरिसकेको व्यक्ति हुँ । यहाँ अझै पनि मजदुरहरु आर्थिक रुपले भयानक समस्याग्रस्त अवस्थामा छन् । लोकतन्त्रको उदयपछि नेपालमा मजदुरहरुको हक-हितका लागि जति सरकारले काम गर्न सक्थ्यो त्यति गरेको पाइँदैन । यहाँ विभिन्न नयाँ-नयाँ युनियन त खुले तर श्रमभन्दा पुँजीलाई नै बढी महत्त्व दिएको पाइयो ।

अर्थात् हामीकहाँ जति पनि लोकतन्त्रपछि सरकारहरु बने ती सबैले पुँजीपतिहरुको लाभका लागि मात्र ध्यान दिएको मैले देखें । कसैले मजदुरहरुको हक-हितलाई गम्भीर भएर सोचेको देखिनँ । मजदुरहरुलाई अहिले पनि उनीहरुको श्रमको उचित ज्याला (तलब) भत्ता, सुविधाहरु दिइएको छैन । न कुनै सरकारले यहाँ मजदुरहरुका लागि कुनै ठोस कल्याणकारी योजनाहरु ल्याउन सकेको पाइयो । मैले त खाली झारा टार्ने काम मात्र गरेको देखें ।

अहिले नेपालमा कानुन बने पनि बाल मजदुरी कायमै छ । महिला मजदुरहरुको कम ज्याला र उनीहरुमाथि यौनशोषणहरु कायमै छ । मजदुरहरुको सुविधाहरु पनि वर्तमान परिप्रेक्षमा पर्याप्त छैनन् । यस्ता यावत् विसंगति, विकृति र शोषणका कुराहरु छन्, जसलाई सुधार गर्न उहिल्यै सकिन्थ्यो । त्यसमा न राजनीतिक दलहरुले, न ट्रेड युनियनका नेताहरुले, न विगत र वर्तमानका सरकारहरुले सुधार गरेको देखियो । यहाँ जति पनि राजनीति दलहरु छन् तिनीहरु सबैले मजदुरहरुलाई खाली आ-आफ्नो भोट बैंक बढाउने काममा मात्र प्रयोग गरेको देखियो ।

अनि यहाँका मजदुर नेता भनाउँदाहरु पनि मजदुरहरुको नाउँमा राजनीतिक दलहरुको स्वार्थ पूरा गर्ने र राजनीतिक दलहरुका नेताहरुलाई खुसी पारी गुटबन्दी गरी आफ्नो दुनो सोझ्याउने काममा मात्र तल्लीन रहेको देखियो । यसको मुख्य कारण के हो हाम्रो देशमा मजदुरवर्गको युनियनहरुमा वास्तविक मजदुरहरुको प्रतिनिधित्व न रहनु हो । किनभने मेरो लामो अनुभवमा यहाँका ट्रेड युनियनहरुको उच्च नेतृत्वमा वास्तविक मजदुरहरु नभइ सम्बन्धित राजनीतिक दलका नेताहरु र गैरमजदुरहरुको नेतृत्वदायी भूमिकाको कारणले पनि त्यस्तो भएको हो । अहिले पनि नेपालमा ट्रेड युनियनहरु राजनीतिक दलहरुको भ्रातृ संगठन भएर दलको स्वार्थमा काम गरिरहेका छन् ।

मलाई लाग्छ जबसम्म मिहिनेति वास्तविक मजदुरहरु आफ्नो ट्रेड युनियनहरुको उच्च नेतृत्वमा पुग्दैनन् र बहिष्कृत भई रहन्छन् तबसम्म हाम्रो देशमा मजदुरहरुको अवस्थामा सुधार हुँदैन । ट्रेड युनियन आन्दोलन अगाडि बढ्दैन । मुलुकमा अहिले आर्थिक संकटको बेला आफ्नो रोजीरोटीको अभावमा विभिन्न सहरहरुमा पलायन गरेका हजारौं पुरुष तथा महिला मजदुरहरु आज विभिन्न किसिमका समस्याबाट ग्रसित छन् ।

तिनीहरुका लागि कुनै ठोस नीति तथा कार्यक्रमहरु तत्काल विगत र अहिलेको सरकारले बनाउनुपर्नेमा यो त आफ्नै दलको राजनीतिक खिचातानीमै रुमलिएको छ । यो सरकारबाट मजदुरहरुले सुधारको आशा गर्नु बेकार छ । अझ गाउँका अन्य असंगठित क्षेत्रका मजदुरहरुको त के कुरा गर्नु । अन्त्यमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मेरा पूर्व र वर्तमान समकालीन ट्रेड युनियनका साथीहरूलगायत सबै मजदुरवर्गमा जय नेपाल र लाल सलाम ।

प्रतिक्रिया