शनिबार, वैशाख १३, २०८२

३ हप्तादेखि बन्द हेटौंडा सिमेन्ट उद्योग आजदेखि सञ्चालनमा

नेपालखोज २०७७ भदौ १३ गते १६:१४

मकवानपुर । कोरोना रोग नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाका कारण विगत तीन हप्तादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योग आजदेखि सञ्चालनमा आएको छ । स्थानीय प्रशासनको स्वीकृतिमा आजदेखि उद्योग सञ्चालन गरेको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिए । सिमेन्ट उत्पादनका लागि कच्चापदार्थ तथा जनशक्तिको अभाव नरहेका उल्लेख गर्दै अहिले पूर्ण क्षमतामा नभई आंशिकरुपमा अर्थात प्रतिदिन ९ हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरी सञ्चालन गरिएको बताइएको छ ।

काठमाडाँंलगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा लगाइएको र निर्माणसम्बन्धी काम बन्द भएकाले उत्पादन गरिएका सिमेन्ट बिक्री वितरणमा समस्या रहेकाले तत्काल पूर्ण क्षमतामा सञ्चालन नहुने उनको भनाइ छ । कोइलाको मात्रा कम भएकाले आगामी दिनमा कोइलाको अभाव हुन नदिन त्यसको टेन्डरसमेत भइसकेको छ । विश्वव्यापी रुपमा कोरोना फैलिएपछि २०७६ साल चैत ११ गतेदेखि नेपालमा लकडाउन भएपछि सो उद्योग पनि बन्द भएको थियो तर त्यस अवधि २०७६÷७७ मा उत्पादन गरिएका चार लाख बोरा सिमेन्ट उद्योग बन्द भए पनि बिक्री गरिएको थियो ।

गत वर्ष २०७६ सालमा वैशाखदेखि फागुनमा उद्योगको मेसिनमा खराबी भएका कारण पटकपटक उद्योग बन्द भएको थियो । जसका कारण लक्ष्यअनुरुप सिमेन्ट उत्पादन नभई उद्योग घाटामा गएको हो । मेसिन मर्मत र पुुरानो मेसिनले सञ्चालन गर्दा धेरै रकम खर्च भएको बताइएको छ ।

उद्योगमा रहेका मेसिनहरु धेरै पुराना भएको कारण कार्य क्षमतामा ह्रास आएकाले उत्पादन लागत बढी भएको भन्दै उद्योगले क्षमता विस्तार गर्ने लक्ष्यसमेत राखेको उद्योग प्रशासनले जनाएको छ । आर्थिक वर्ष २०७२÷७३ देखि निरन्तर नाफामा गइरहेको सिमेन्ट उद्योग २०७५÷७६ मा मेसिनको खराबीका कारण लामो समय बन्द रहँदा घाटामा गएको बताइएको छ । आधुनिक मेसिन जडान गरी काम गर्दा सिमेन्टका उत्पादन लागत कम रहने र धेरै सिमेन्ट उत्पादन भई अन्य सिमेन्ट उद्योगसँग बजार मूल्यमा प्रतिस्पर्धा गर्न सकिने त्यहाँका कर्मचारीहरुको भनाइ छ ।

दैनिक तीन हजार मेट्रिक टन क्षमता विस्तार गर्नका लागि उद्योग मन्त्रालयमा केही वर्ष अगाडि प्रस्तावसमेत पेश गरिसकेको उद्योगले जनाएको छ । २०४३ सालदेखि व्यावसायिक उत्पादन शुरु गरेको उद्योगका मेसिनहरु पुराना भएका कारण उत्पादन लागत धेरै भएको र उत्पादनमा ह्रास आएकाले उद्योग समस्यामा रहेको महाप्रबन्धक सिंहको भनाइ छ ।

प्रतिक्रिया