निषेधाज्ञा प्रभाव : दूध बिक्री नभएपछि सडकमा फ्याँकियो

नेपालखोज २०७७ भदौ १३ गते २०:२६

भक्तपुर । निषेधाज्ञाका कारण बिक्री नभएपछि भक्तपुरको सूर्यबिनायकमा दूध सडकमा फ्याँकिएको छ । सूर्यबिनायक नगरपालिका ८ सूर्यविनायक चोकमा रहेको रानीकोट डेरीका सञ्चालकले बिक्री नभए पछि सडकमा दूध फ्याँकेका हुन् ।

किसानबाट संकलन गरेको दूध बिक्री ठप्प भएपछि सञ्चालक शुभमाया श्रेष्ठले सडकमा खन्याइ दिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताए । काठमाडौँ उपत्यकामा निषेधाज्ञाको समयमा बिहान ९ः१५ बजेसम्म मात्रै दूध तथा खाद्यन्न पसल सञ्चालन गर्न पाइन्छ ।

त्यस बाहेकका समयमा पानी र औषधिजन्य व्यवसाय मात्रै सञ्चालन गर्न पाईने भएकाले दूग्ध पदार्थको संकलन र बिक्री प्रभावित भएको छ । निषेधाज्ञाका कारण बिक्री घट्दा किसान र व्यवसायी दुवै मारमा परेको नेपाल डेरी एशोसिएसनले जनाएको छ ।

चार महिना लामो लकडाउनका कारण समस्यामा परेका व्यवसायी र किसानले साउन पहिलो हप्तादेखि केही राहात पाए पनि निषेधाज्ञाका कारण फेरि दूग्ध पदार्थ खपत ओरोलो लागेको एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए ।

प्रतिक्रिया