समाज विकासमा युवाको भूमिका
“युवा नै देशको अग्रगामी विकासका मुल आधार हुन् र युवाको मेहनतले नै देश बन्छ” – यो भनाई यत्रतत्र सुनिन्छ र धेरै अगाडिदेखि सुनिँदै आएको पनि हो । अवश्य पनि युवावस्था भनेको परिवर्तन चाहने उमेर हो र युवामा समाज र देशको लागि केही गर्ने चाहना पनि अधिक हुन्छ । यही कारण युवालाई असीम ‘ऊर्जाको केन्द्र’ र ‘देशको गौरवको आधार’को उपाधि दिनुलाई सही नै मान्नु पर्दछ । युवाको विश्वव्यापी रूपमा मान्य हुने एउटै परिभाषा नभए तापनि सामान्यतया युवावय अवस्थालाई बाल्यकाल सकिएर वयस्क नहोउन्जेलको उमेरलाई युवाकाल भनेर बुझ्ने गरिन्छ । यस सम्बन्धमा विभिन्न देशले आ–आफ्नै व्याख्या गरेका छन् । बङलादेशमा १५–३० वर्ष उमेर समूहकालाई युवा भनिन्छ भने भारतमा १६–२९ वर्ष समूह र चीनमा १८ देखि ३५ वर्षबीचका लाई युवा मानिन्छ । नेपाल सरकारको युवा नीति २०७२ मा भने १६ देखि ४० वर्ष समूहकालाई युवा भनेर उल्लेख गरिएको छ । उक्त नीतिका आधारमा हेर्दा नेपालको कुल जनसङ्ख्याको ४०.३५ प्रतिशत हिस्सा युवाले ओगटका छन् । नेपाल सरकारको युवा नीतिले युवालाई ‘राष्ट्रको शक्ति, अमूल्य सम्पत्ति, अग्रगामी परिवर्तनका वाहकहरु’ भनेर व्याख्या गरेको छ । चौतर्फी रुपमा भइरहेको युवासम्बन्धी वहसलाई ध्यानमा राखी यस लेखमार्फत् युवाले समाजको राजनैतिक, आर्थिक, सामाजिक र शैक्षिक विकास प्रक्रियामा कस्तो भूमिका खेल्न सक्छन् भन्नेबारे चर्चा गर्ने जमर्को गरिएको छ ।
समाजको विकास एक निरन्तर चलिरहने प्रक्रिया हो, जसले समाजको सामाजिक, आर्थिक, भौतिक र वातावरणीय अवस्थालाई सकारात्मक तरिकाले परिवर्तन गरिरहेको हुन्छ । सामान्यतया विकासलाई कुनै पनि समुदायको र त्यहाँका नागरिकहरुको जीवनमा आईपर्ने समस्याहरुलाई हल गर्दै नागरिकहरुको जीवनमा आउने सकारात्मक परिवर्तनका रुपमा व्याख्या गर्ने गरिन्छ । तर, परिवर्तन सहजै आउँदैन । वास्तविक परिवर्तनका लागि समुदायका सबै तहका वर्ग र समूहको सहभागिताको आवश्यकता पर्दछ । त्यसमध्ये पनि माथि उल्लेख गरिएझैँ सबैभन्दा उर्जाशील र परिवर्तनको चाह राख्ने युवावर्गको सहभागिता अत्यन्तै महत्वपूर्ण हुन्छ ।
लगभग तीन दशक यता विश्वव्यापि रुपमा नै ‘सहभागितामूलक विकास अवाधारणा’ स्विकार गरिनुका साथै यसको व्यापक अभ्यास भइरहेको छ । यसले मुलतः कुनै पनि विकास सम्बन्धित समुदायको संस्कृतिको जगमा टेकेर गरिनु पर्दछ र यस्तो विकासको नेतृत्व सम्बन्धित समुदायले नै लिनु पर्दछ भन्ने मान्यता राख्दछ । विकासमा सहभागिता भन्नाले आफ्नो समुदायमा कस्तो विकास गर्ने भन्ने निर्णय गर्नेदेखि, निर्णयअनुसार योजना बनाउने, त्यसको कार्यान्वयन गर्ने, कार्यान्वयन प्रक्रियाको अनुगमन तथा मूल्याङ्कन गर्ने र विकासको प्रतिफलको उपभोगमा समेत सम्बन्धित नागरिकहरुको सहभागिता हुनुपर्छ भनेर बुझिन्छ । यस्तो विकासको अवाधारणालाई ‘सहभागितामूलक विकास’ भनेर बुझिन्छ । विकासमा जनसहभागिताको कुरा गर्दा नेपालको कुल जनसंख्याको आधा हिस्सा युवाले ओगट्ने भएकोले उक्त प्रक्रियामा युवाको सहभागिता अपरिहार्य छ । साथै, युवाहरु शारीरिक हिसाबले मात्र सवल नभएर उनीहरुमा सकारात्मक सोँच हुने, श्रृजनात्मक कार्यमा लाग्ने क्षमता हुने र उनीहरुसँग समाज बदल्ने अठोट हुने हुँदा उनीहरुको सहभागिता जरुरी छ ।
सामुदायिक विकासमा युवाले विभिन्न किसिमका भूमिका खेल्न सक्छन् । युवाकै नेतृत्वबाट सामाजिक राजनैतिक आर्थिक तथा प्राविधिक विकास सम्भव हुन्छ । यसका पर्याप्त उदाहरणहरु नेपाल र विश्वका अनेकौ ठाउँमा देख्न पाइन्छ । सबैभन्दा पहिले युवाको भूमिका राजनीतिमा के हुनसक्छ र अहिलेसम्म घटित घटना र उदाहरणको चर्चा गरौँ ।
पहिलेको तुलनामा अहिलेका युवाहरु सामुदायिक अभियान र राजनीतिक गतिविधिमा चासो राखी त्यसमा सामेल हुन थालेको देख्न पाइन्छ । नेपालको इतिहास हेर्ने हो भने राणा शासन उन्मूलनका लागि भएको क्रान्ति, पञ्चायती व्यवस्था हटाउनका लागि भएको २०४६ सालको आन्दोलन र २०६२÷६३ को दोस्रो जनआन्दोलनमा युवाको सक्रिय भूमिका रहेको थियो । राणशाषनको विरुद्धमा लागी मृत्यु वरण गरेका शहिद गंगालालको उमेर २२ मात्र थियो । त्यतिबेला उनीसँगै देशको लागि थुप्रै युवाहरुले योगदान गरेका थिए । पञ्चायति व्यवस्था विरुद्ध भएको ४६ सालको अभूतपूर्व आन्दोलनमा सक्रिय भूमिका खेल्ने पनि युवाहरु नै थिए र युवाहरुको वलिदानीकै कारण २०६३ सालको आन्दोलन सफल भई नेपालमा गणतन्त्र स्थापना हुन सकेको हो । हिजोआज त चियापसलदेखि संसदसम्ममा हुने वहसमा ‘राष्ट्र निर्माणमा युवाहरुको भूमिका’ले स्थान पाएको छ । पत्रपत्रिकामा पनि यस विषयमाथि पर्याप्त टिकाटिप्पणी हुन थालेका छन् । यसले समाज अनि सिंगो देशको परिवर्तनको लागि निर्णायक भूमिका खेल्ने राजनीतिक प्रक्रियामा युवाको भूमिका भएको थियो र अझै छ भन्ने कुरा बुझ्न सकिन्छ ।
सामाजिक विकासमा युवाको भूमिका हरेक गाउँ टोलमा देख्न पाइन्छ । समाजमा सञ्चालन हुने सानातिना विकास निर्माणका कामदेखि पालिका तहमा कार्यक्रम बनाउन, नीति निर्माणका लागि सरकारलाई दबाब दिने काममासमेत युवाको भूमिका देख्न सकिन्छ । वर्तमान अवस्थामा युवाले समुदाय विकासमा स्थानीय सरकारसँगको साझेदारीमा विकासका कार्यक्रमहरु सञ्चालन गर्न सक्ने प्रावधान राखिएको छ । यसै नीतिलाई अनुशरण गर्दै थुप्रै युवा र युवा सङ्लग्न सामाजिक संघसंस्थाले स्थानीय सरकारसँग मिलेर विकासका योजनाहरु सञ्चालन गरिरहेका छन् । पालिका तहको योजना तर्जुमा प्रक्रिया हेर्दा बस्ती एवं वडा स्तरीय योजना तर्जुमाका चरणहरुमा युवाहरुको अर्थपूर्ण सहभागिता हुनैपर्ने प्रावधान राखिएका छन् । त्यस्तै, समाजमा विद्यमान कुरीतीहरु ः जस्तै, जातीय भेदभाव, लैङ्गिक भेदभाव, छाउपडी, घरेलु हिंसा जस्ता अवस्थाका विरुद्ध युवाहरु खुलेर बोल्न थालेका छन् । यस्ता विषयलाई समुदाय तहको वहसमा ल्याउने र त्यसको विरुद्धमा बुलन्द आवाज उठाई परिवर्तनको नेतृत्व पनि युवाले नै लिनु पर्दछ ।
शैक्षिक र आर्थिक विकासमा पनि युवाको भूमिका महत्वपूर्ण हुन्छ । यसको लागि आवश्यक वातावरण तयार पार्न राज्यले संयोजक र संरक्षकको भूमिका खेल्नुपर्ने हुन्छ । तर, अहिले सरकारले यस विषयमा अपेक्षित जिम्मेवारी पुरा गर्न सकेको छैन । नेपालका युवाहरु विश्वबजारमा पुगेका छन् । बन्दाबन्दी सुरु हुनु अघिसम्म नेपालबाट दैनिक रुपमा १५०० सयको हाराहारीमा युवाहरु अन्य देशको आर्थिक विकासका लागि आफ्नो देश छोडिरहेका छन् । तथ्याङ्कले नेपालका ५० लाखभन्दा बढी युवाहरु नेपालभन्दा बाहिर कार्यरत रहेको देखाउँछ । खाडी मुलुकको भौतिक पूर्वाधार तथा आर्थिक विकासमा ती नेपाली युवाहरुले अर्थपूर्ण योगदान पु¥याएका छन् । उनीहरु मलेसिया, कोरियादेखि युरोपका विभिन्न मुलुकमा पुगेका छन् । आफ्नो मुलुकमा रोजगारीको अभावका कारण यहाँका युवाहरु असङ्ख्य समस्या र पीडा सहँदै विभिन्न मुलुकमा कार्यरत छन् । युवाको त्यो उर्जालाई आफ्नै देशको विकासको लागि उपयोग गर्न सकिएको छैन । कोभिड–१९ का कारण विश्वका विभिन्न मुलुकबाट फर्की नेपालमा कृषि, पशुपालन र प्रविधि क्षेत्रमा उल्लेख्य प्रगति गरेका समाचारहरु धेरै सुन्न पाइन्छन् । यो कुरालाई ध्यानमा राखी राज्यले छिटोभन्दा छिटो युवामुखी विकासको लागि आवश्यक नीति ल्याउनु जरुरी छ ।
तथ्याङ्कले पछिल्लो १० वर्षयता १८ देखि २४ वर्ष समूहका दुई लाख युवाले उच्च शिक्षा हासिल गर्न देश छोडेको देखाउँछ । यसले नेपालबाट शिक्षाकै लागि अरवौँ रुपैया वर्षेनी बाहिरिरहेको देखाउँछ । बाहिर गएकामध्ये धेरैले उतै बस्ने गरेको देखिन्छ भने केही युवाहरु आफ्नै देश फर्की त्यहाँ हासिल गरेका शिक्षा र सीपको उपयोग गर्दै विभिन्न कामहरु अघि बढाइरहेका कुराहरुसमेत पढ्न र देख्न पाइएको छ । कृषिसम्बन्धी सीप हासिल गर्न इजरायल गएका युवा समूहले नेपाल फर्किएर लमजुङमा आरभा आधुनिक कृषि फार्म संचालन गरी स्थानीय सयौँ युवालाई रोजगारी दिएको कुरालाई एक महत्वपूर्ण उदाहरणको रुपमा लिन सकिन्छ । यसबाहेक कति नेपाली युवाहरु उच्च आय भएका देशहरु, जस्तै अमेरिका, बेलायत, अस्ट्रेलिया, फिनल्याण्डमा विश्वविद्यालयदेखि ठूला कम्पनीमा कार्यरत छन् । त्यस्ता जनशक्तिलाई नेपाल फर्कने माहोल बनाई दक्ष युवाबाट त्यहाँ सिकेका कुरा नेपालमा पनि लागू गरी यहाँको विकासमा टेवा पु¥याउन सकिन्छ । विदेशमा उच्च शिक्षा हासिल गरेपछि आफ्नै देशमा केही गर्ने उद्देश्यले नेपाल फर्की प्रविधिको विकासमा लामो समयदेखि सक्रिय महाविर पुनलाई नेपालका हज्जारौँ युवाहरुले रोल–मोडेल मानेका छन् । पुनले अहिले प्रविधिको विकासको लागि उल्लेखनीय कार्य गरिरहेका छन् । उनको कार्यले पनि नेपालको शिक्षा प्रविधिमुखी र युवामुखी बनाउन सकिएमा धेरै युवाहरु स्वदेश फर्काई यहाँको विकासको लागि उपयोग गर्न सकिन्छ । साथै, नेपालकै धेरै युवाहरुलाई पुनको अभियानमा सहभागी गराउन सकिन्छ । महावीर पुन जस्तै क्षमता भएका अन्य सयौँ हुन सक्छन् । उनीहरुको क्षमताको पनि कसरी उपयोग गर्ने भनी सोँच्नु जरुरी छ ।
देशको प्राविधिक विकासमा युवाहरुको योगदान सबैभन्दा बढी छ । अन्य देशको तुलनामा नेपालमा प्राविधिक विकास ढिलो शुरू भए तापनि पछिल्लो १० वर्षयता मुलुकमा प्रविधिको विकासले ठूलो फड्को मारेको देख्न पाइन्छ । युवाहरुको नेतृत्वमा आधुनिक प्रविधिलाई कृषि, यातायात तथा भौतिक निर्माण र उद्योगधन्दा क्षेत्रमा जोडी देशको आर्थिक विकासमा हुने लगानीलाई अझै बढाउनु पर्दछ । युवाहरु स्वभावैले आधुनिक प्रविधिको प्रयोग गर्न रुचाउँछन् र प्रविधिलाई विभिन्न क्षेत्रमा उपयोग गर्न चाहन्छन् । त्यसैले होला पछिल्लो समयमा आधुनिक प्रविधिसहितको कृषि पेशामा उनीहरुको सहभागिता बढिरहेको देखिन्छ । यसबाट प्राविधिक विकास भएको खण्डमा सामुदायिक विकासमा युवाको सहभागीता अझै बढी उपलब्धिमूलक हुन्छ भन्ने बुझ्न सकिन्छ ।
अन्ततः युवाको सक्रिय सहभागितामा राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक र प्राविधिक रूपान्तरण गर्न सकेमा निःसन्देह सम्वृद्ध र समतामूलक समाजको निर्माण हुने निश्चित छ । यसबारेमा समाजका सबै वर्ग, समूहले ध्यान दिनु पर्दछ र राज्यले यसको निम्ति आवश्यक नीति निर्माण गर्नु पर्दछ । सबैभन्दा महत्वपूर्ण कुरा त यसको लागि सबैभदा बढी बिचार गर्नुपर्ने र राज्यलाई आवश्यक दवाव सिर्जना गर्नुपर्ने त युवाहरुले नै हो । यसका लागि देशका सम्पूर्ण युवाहरुले गम्भीरतापूर्वक बिचार गरौँ ।
लेखक काठमाडौं विश्वविद्यालयबाट दीगो विकास विषयमा स्नातकोत्तर गरी हाल सगुन नेपालमार्फत् सामाजिक विकाससम्बन्धी कार्यमूलक अनुसन्धान कार्यमा सङ्लग्न छन्
प्रतिक्रिया