शुक्रबार, वैशाख २८, २०८१

बुटवल

सुनील उलक २०८० असार २० गते ७:२१

पोखरेलीको लागी बुटवल निकै चिरपरिचित नाम हो । पोखरेलीको निकै साइनो गाँसिएको ठाँउ पनि हो यो । कसैको मावली, कसैको ससुराली, कसैको काका, कसैको भेना । धेरै पोखरेलीको नातेदार यो शहरमा बस्नुहुन्छ । तसर्थ यहाँको गल्ली गल्लीलाई पोखरेलीले चिनेको छ ।

बुटवल बारे लेख्नु पर्दा यो ठाँउको ऐतिहासिक महत्व धेरै छ । ढुङ्गे युगका रामापिथेकसको माथिल्लो बङ्गारा तिलोत्तमा नदि (तिनाउ) किनारमा भेटिनुले यो क्षेत्र एक करोड बर्ष भन्दा पुरानो भएको प्रमाणित भएको छ । आधुनिक युगको इतिहासमा पनि ४०० ( ५०० बर्ष पहिले देखी ब्यापारिक केन्द्र रहेको देखिन्छ । तिब्बत र भारत बिच मुगल कालमा हुने ब्यापारको मध्य बिन्दु यहि रहेको देखिन्छ । बटौलीबाट पाल्पा स्याङ्जा कुस्मा बागलुङ हुदै तिब्बतको ब्यापार भएको देखिन्छ । चिनिया यात्री हुएन साङ पनि इ।सं। ६२४ तिर यहि बाटो लुम्बिनी आएका थिए ।

१०० वर्ष अगाडि नै बटौली महत्वपूर्ण बजार भइसकेको थियो । बडाहाकिमको जाडोको दरवार बटौलीमा थियो । केही परेड ग्राउण्ड थियो । केही सैनिक अफिसहरु पनि बटौलीमा थियो । नेपाली सेनाको तीनवटा बटालियन जाडोमा बटौली रहन्थ्यो भने गर्मीमा पाल्पा सारिन्थ्यो । बटौलीको नजिकै सिद्धार्थ गौतमको जन्मस्थल रहेको थियो । सन १८१४ मा अंग्रेजसंगको नेपालको युद्धमा अंग्रेज यहि धर्तिमा पराजित भएका थिए ।

कर्णेल उजिरसिंह थापाको नेतृत्वको सेनाले जीतगढी किलामा अंग्रेजलाई पराजित गरेको थियो । सयौं वर्ष अगाडि देखि बटौली ब्यापारको केन्द्रविन्दु थियो । भोटको सिमा देखि लिएर पश्चिम नेपालसम्मको भारतीय नाकामा गरिने ब्यापार बटौलीबाट नै हुन्थ्यो । पहाडबाट तथा भोटबाट मानिसहरु जडीबुटी, घ्यू तथा गाउँघरमा नै बनाइएको काम्लो, राडीपाखीहरु बटौलीमा नै बेच्न आउँदथे । फर्कदा नुन, तेल, कपडा लिएर जान्थे ।

बटौली तिनाउको पश्चिममा थियो । खस्यौली तिनाउको पूर्वमा थियो । भारतीय सीमासंग बुटवल सडक सञ्जालसंग जोडिए पछि खस्यौली बजार बिस्तारै चम्कन थाल्यो । बटौली बिस्तारै बुटवल भन्न थालियो । २०१६ कार्तिक १२ गते पहिलो पटक बुटवल खस्यौली नगरपालिका गठन भयो । यसको सीमाको रुपमा पूर्वमा नकासी डाँडा, पश्चिममा चुरेडाँडाको शीर, उत्तरमा चिडिया डाँडा र दक्षिणमा जोगीकुटी तोकियो । २०१७ साल पुसमा पञ्चायती ब्यबस्था शुरु भए पछि बुटवल खस्यौली नगर पञ्चायत नामाकरण गरियो । बटौलीको नाम बिस्तारै हरायो । भन्न र चिन्न पनि छोडे । खस्यौली पनि बुटवल बन्दै गयो । सबैले बुटवल भन्दै गयो । अन्तत २०३५ माघ ८ गते नगरपालिकाको नाम परिवर्तन भएर केवल बुटवल नगर पञ्चायतमा रहन गयो ।

यहाँ थाकखोलाका थकालीहरुको प्रवेशले भट्टी पसलहरु चम्कन थाले । भारतमा छुट्टीमा फर्कने सैनिक जवानहरुका लागि सहज भयो । बिस्तारै भट्ट पसलहरु श्रीमतीलाई जिम्मा दिएर श्रीमानहरु कपडाको ब्यापार गर्न थाले । जसले गर्दा सैनिक जवानहरुबाट दोहोरो ब्यापार लिन थाले । २०२० सालतिर एसपीआरको शुरुवात भयो । एसपीआर अर्थात सुनौली पोखरा राजमार्गको शुरुवात पछि बुटवलको ब्यापार भैरहवामा सर्न थाल्यो । भैरहवाको ब्यापार चम्कन थाल्यो बुटवलको ब्यापार सुक्न थाल्यो ।

यहाँ २०२७ सालतिर खिचिएको तस्विर हो यो । यस तस्विरमा म केही अनुमान गर्न सक्दछु । मेरो अनुमानमा एसपीआरको रुपमा सिधा धर्सा देख्न सकिन्छ । साथै बिचमा कान्ती स्कुल देख्न सकिन्छ । कान्ती स्कुल देखि तल नेपाली सेनाले ‍ओगटेको कम्पाउण्ड देख्न सकिन्छ ।

साथै तल बिचमा युनाइटेड मिशन टु नेपालले २०१९ सालमा स्थापना गरेको बुटवल टेक्निकल इन्स्टिच्युटको भवन देख्न सकिन्छ । यो भवन शुरुमा अस्पतालका लागि बनाइएको थियो । तर पछि तालिम केन्द्रका रुपमा स्थापित भयो । तिनाउ खोला तथा हातबजार नजिकै रहेको बालमन्दिर पनि देख्न सकिन्छ । पुरानो बसपार्कमा केही बसहरु देख्न सकिन्छ ।

बुटवलका पुराना बासिन्दाले यस तस्विरमा देखिएका प्रमुख स्थानहरु निर्क्यौल गरेर भन्न सक्नुहुनेछ । म यो तस्विर खिचिएको भन्दा करिव ८ वर्ष पछि पहिलो पटक खस्यौली पुगेको थिए ।

प्रतिक्रिया