मंगलबार, वैशाख २५, २०८१

नेपालको अर्थतन्त्र र अबको बाटो

अम्बिका शर्मा (पीएचडी)

नेपालखोज २०८० पुष ४ गते १५:२१

एउटा चल्तीको भनाई छ, ‘सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।’ अहिले हाम्रो मुलुकको अवस्था ठ्याक्कै यस्तै छ । भूगोलमा अन्य मुलुक भन्दा सानु छ । अझै दुई ठुला मुलुकको बिचमा रहेपछि त आकार सानु देखिन्छ नै । त्यसमा पनि आर्थिक र समृद्धिको पाटोबाट हेर्दा पनि चेपुवामा नै छ नेपाल । यो त, अन्य मुलुकसँग तुलना गर्दाको दुःख हो । तर, एक पटक मुलुकभित्रै आँखा डुलाउन् त, सम्भावनाका बाटा कति छन् ? विश्वले चिन्ने हिमाल हाम्रै मुलुकमा छ । पानी र नदीमा धनी मुलुकमा नै दाँजिन्छ । अनि, चिसो हिमालदेखि गर्मी भू–भाग हाम्रै देशमा छ । खोज्दै जाँदा नदीमा सुन भेटिन्छ, र पूजा गर्ने ढुङ्गा पनि । संस्कार संस्कृतिको व्याख्या त नेपालीले मात्रै होइन, विदेशीले पनि गरिरहेका छन् । कोही विदेशी त भन्छन्, ‘नेपालीको मुस्कान नै अमूल्य छ । पैसाको कुरा पर छाडौँ ।’

यी त भए केही छिन् गम्दा नै पाइने नेपालका गर्व लाग्दा विषयका कुरा । तर, बुझ्नुपर्ने कुरा के छ भने – भएका चिज चिन्न सकिएन भने समृद्धि आउँदैन । त्यसैले त भनिएको हो –‘कस्तुरी मृग आफ्नै बिनाबाट निस्किएको सुगन्ध कहाँबाट आयो भन्दै जङ्गल–जङ्गल डुल्छ, तड्पिन्छ ।’ हामी अहिले यस्तै अवस्थामा छौँ । समृद्धि मुलुकभित्रबाट पाइन्छ भन्ने भाषण मात्रै भए, काम भएनन् । अझै पनि बाहिरी मुलुकबाट आउने पेट्रोलियम पदार्थ, सवारी र मुलुकमा सर्वसाधारणले सबैभन्दा धेरै प्रयोग गर्ने वस्तुमा कर लगाएर अर्थ (राजश्व) सङ्कलन गरिरहेका छौँ । निर्यात भन्दा आयतमा रमाइरहेका छौँ । किसानका दुःख सुन्दैनौँ, बिचौलियालाई किसान देख्छौँ । र त मुलुक सिँगार्ने कर्मीहरू बाहिरी देश पलायन भइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल युवाका लागि मुलुकमा टेक्ने अन्तिम पाइला बन्दैछ । बिदेसिनु रहर नभई बाध्यता उनीहरूको हो ।

अब गर्ने के त ? प्रश्न सबैको छ । जवाफ केही देश हाँक्छौँ भन्नेहरूको भाषणमा भेटिन छाडेका छन् । यति त जनताले पनि थाहा पाइसके । तर, अर्थतन्त्र उक्सन सकेन भन्ने चिन्ता मुख्य कुरो हो । पछिल्लो समय अर्थतन्त्रको चुक्कुल कहाँ फुस्कियो सबैको खोजिको विषय बनेको छ । तर, जुनै मुलुकमा पनि अर्थतन्त्र बलियो बनाउन सही नीति आवश्यक पर्छ र दोस्रोमा त्यसको कार्यान्वयन पक्ष मुख्य पाटो बन्छ । अहिले हामी यसमा नै चुकेका छौँ । नीति तथा कार्यक्रम बनाउँदादेखि बजेट सार्वजनिक गर्दा सम्ममा नै अर्थतन्त्रलाई मजबुत रूपमा उक्लने बाटो तयार पार्नुपर्छ । अघिल्ला वर्षमा चिप्लिएका अर्थतन्त्रका बुँदा र सफल नबनेका पाटोलाई त्यसै समय सँगाल्नुपर्छ । र, विज्ञको सुझाव र मुलुकको आवश्यकतालाई एकै ठाउँ राखेर मजबुत आर्थिक नीति खडा गर्नुपर्छ । अनि मात्रै अर्थतन्त्रमा बजारिएको मुलुक तङ्ग्रन्छ र बौरिएर समृद्धिमा अघि बढ्छ । तत्र, अवस्था झनै दयनीय बन्दै जान्छ । जनता गरिबबाट झनै गरिब बन्छन्, भोकमरी र पलायन बढ्दै जान्छ । 

सपना-बिपना बन्नका लागि सपना देख्न जरुरी नै हुन्छ । ‘कि आफै जान्नु, कि भनेको मान्नु’ भन्ने उखान नै छ । गर्न जानिएन भने कि सिक्नुपर्छ, कि सुझाव लिनुपर्छ । मुलुक भित्रै आर्थिक क्षेत्र बुझेका विज्ञ छन् । विश्वका विभिन्न देशमा पुगेर अनुभव लिँदै नेपालको अवस्थामा के गर्न सकिन्छ भनेर अध्ययन गरेर फर्किएकाहरू छन् । अर्थ मजबुत बनाउने सूत्र खर्लप्प खाएर त्यसको बल कता लगाऊँ भनेर पाखुरा सुकिएकाहरू छन् । शैक्षिक बेरोजगारहरू काम देऊ भनेर आन्दोलन गरिरहेका छन् सडकमा र सामाजिक सञ्जालमा । कामका बाँझा विषय श्रमिक पर्खिरहेका छन् । अनि अब के चाहियो ? त्यही काम लगाउने र आफै खटिने सफल नेतृत्व र आयोजना होइन र ? हो अहिलेलाई यति मात्रै गरेर हेरौँ त नतिजा कस्तो आउँछ । म त भन्छु यसो गरे मुलुकले कोल्टे फेर्छ । अहिलेका अभावका दिन इतिहास बन्छन् । अनि उदाहरणीय मुलुक भनेर विश्वले चिन्छ । नेपालका जनताले होइन, यहाँको उत्पादन र ज्ञान विश्वले किन्छ । श्रम बेच्न विश्वका श्रमिक नेपाल आउँछन् र आज विदेशमा पसिना बगाइरहेकाहरू यहाँका उद्यमी र मालिक बन्छन् । सरकारको नेतृत्व तहमा बसेकाको जय जयकार हुन्छ, सडकमा सुरक्षा उनीहरूलाई सुरक्षाकर्मीले होइन, जनता आफैले दिनेछन् । अनि यति भएपछि के चाहियो र ?

अझै पनि गर्ने समय भिरको टुप्पोमा पुगेको छैन, डाँडामाथिको जुन बनेको छैन । अर्थतन्त्रमा देखिएको सङ्कुचन मन्दी या आर्थिक शिथिलता के ले गर्दा हो ? समीक्षा गरौँ । समस्या केलाऔँ र समाधानको ‘गियर’ बढाऔँ । इतिहासको कालखण्डमा विश्व बजारमा धेरै मन्दीका धर्सा देखा परेका थिए । सन् १९३० को ‘ग्रेट डिप्रेसन’लाई मुख्य उदाहरणका रूपमा विश्वले लिन्छ । जसपछि विश्व अर्थव्यवस्था सुधार्न धेरै सिद्धान्त प्रतिपादन र मेहनत गरिएका थिए । हामी पनि अहिले यसकै एउटा झिल्कोको चोटमा छौँ । 

मन्दीका लागि केनेसियन एउटा धारणा छ – ‘कुनै विनाशकारी घटनाले अर्थतन्त्रलाई मन्दी ल्याउने कुनै सङ्केत नदिँदासम्म अर्थतन्त्रले सामान्य सन्तुलनमा काम गर्छ । मन्दीका रूपमा आउने बाहिरी झट्काले उत्पादक र उपभोक्ता उपर समान डर पैदा गर्छ ।’ यो धारणाले अहिले पनि काम गरिरहेको छ । हाम्रा अघि चुनौती मात्रै छैनन् अर्थतन्त्र सुधार्ने सयौँ ढोका खुलिरहेका छन् । तिनै ढोका तर्फ हेरौँ र अघि बढौँ । नागरिक अझै पनि आसाको नजरले हेरिरहेका छन् । विज्ञ चुप नबसौँ । नीति-निर्माता अल्छी नबनौँ । अर्थतन्त्रको ट्रकमा हामी सबै छौँ । अब सबै नजागे दुर्घटनाको क्षति उत्तिकै भोग्नुपर्छ ।

प्रतिक्रिया