शुक्रबार, वैशाख १२, २०८२

अबदेखि जुन बैंकको एटीएम प्रयोग गरेपनि शुल्क नलाग्ने

नेपालखोज २०७७ भदौ १५ गते १४:१४

काठमाडौं । अबदेखि एउटा बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको भुक्तानी प्राणालीसम्वन्धी एकीकृत निर्देशन, २०७७ मा यो व्यवस्था रहेको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको उक्त निर्देशनमा ‘एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेको एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लिन पाइने छैन’ भनिएको छ ।

केन्द्रीय बैंकले कायम गरेको नयाँ व्यवस्था अनुसार अब ‘क’ वर्गका बैंकले मात्रै सबै प्रकारका विद्युतीय भुक्तानी कार्ड जारी गर्न पाउनेछन् भने ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले क्रेडिट कार्ड बाहेकका विद्युतीय भुक्तानी कार्ड जारी गर्न पाउनेछन् ।

त्यस्तै डिजिटल वालेट तथा भुक्तानी प्रणाली सञ्चालकले स्वदेशी मुद्रामा मात्र प्रिपेड कार्ड जारी गर्न सक्ने निर्देशनमा उल्लेख छ । विद्युतीय भुक्तानी कार्ड जारी गर्दा लाग्ने शुल्क, कार्डमार्फत कारोबार सञ्चालन गर्दा लाग्ने सेवा शुल्क, ब्याज तथा हर्जाना सम्बन्धी व्यवस्थाहरु ग्राहकसँगको सम्झौतामा स्पष्टरुपमा उल्लेख गर्नुपर्ने व्यवस्था समेत एकीकृत निर्देशनमा समेटिएको छ ।

प्रतिक्रिया