शुक्रबार, वैशाख १२, २०८२

सिटिजन्स बैंकको अगुवाईमा ३ बैंकद्वारा १०.३० मेगावाट क्षमताको डाउन पिलुवा खोला जलविद्युतमा लगानी

नेपालखोज २०७७ भदौ १५ गते १९:५९

काठमाडौं । रिभर फल्स् पावर लि. द्वारा प्रवद्र्धित संखुवासभा जिल्लाको धर्मदेवी र चैनपुर नगरपालिकास्थित डाउन पिलुवा खोला जलविद्युत आयोजनाको निर्माणको लागि सिटिजन्स बैंक इन्टरनेशनल लि. को अगुवाईमा नेपाल इन्भेष्टमेन्ट बैंक लि. र प्रभु बैंक लि. सहभागी सहवित्तियकरण मार्फत् लगानी जुटाइएको छ ।

परियोजनाको अनुमानित लागत करीब १ अर्ब ८९ करोड ४० लाखमा बैंकहरुले ७०ः३० को ऋणःस्वपुँजी अनुपातमा १ अर्ब ३२ करोड बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये, सिटिजन्स बैंकबाट ६५ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकबाट ४२ करोड र प्रभु बैंकबाट २५ करोड लगानी हुनेछ भने ३०% स्वपुँजी प्रवर्धकहरुबाट जुटाइने छ ।

कम्पनीले यस आयोजना साढे दुई वर्षभित्र निर्माण सम्पन्न गरी संचालनमा ल्याउने लक्ष्य राखेको छ । निर्माण सम्पन्नपश्चात् उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरण चैनपुरको बानेश्वरस्थित सबस्टेशनमा जोडिने छ । आयोजनाबाट बार्षिक ५७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ७.६८५ गिगावाट घन्टा र बर्खामा ५० गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

सम्झौता हस्ताक्षरका अवसरमा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गणेश राज पोखरेलले कोरोना भाइरसका कारण सिर्जित कठीन समयमा परियोजनाको वित्तिय व्यवस्थापन समापन गर्नु ठूलो उपलब्धी रहेको जनाए । उनले सहभागी सबै बैंकहरुलाई आभार व्यक्त गर्दै प्रवर्धकहरुलाई थप उत्साहका साथ कार्य अगाडि बढाउन अनुरोध समेत गरेका थिए ।

कम्पनीको तर्फबाट कार्यकारी निर्देशक श्री सुभाष अमात्यले सबै बैंकहरुलाई विशेष धन्यवाद दिँदैं आयोजनाको निर्माण कार्यमा राम्रो प्रगति हासिल गरिसकेको जानकारी गराउनुका साथै परियोजना समयमै निर्माण सम्पन्न गरी संचालनमा ल्याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया