उपत्यकाका विभिन्न ठाउँमा ट्राफिक डमी
काठमाडौं । काठमाण्डौ उपत्यकाका विभिन्न २३ ठाउँमा ट्राफिक डमी राखिएको छ । काठमाण्डौमा १७, ललितपुरमा ३ र भक्तपुरमा ३ वटा सूचनामूलक बोर्डहरु बोकेर उभिएको ट्राफिक डमी राखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
हेर्दा ट्राफिक प्रहरीजस्तो देखिने डमीमा कोरोना भाइरसको संक्रमणबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ । यस्तै कोरोना भाइरसबाट बच्न काठमाण्डौ उपत्यकाका विभिन्न ६० चोकमा सूचना बोर्ड राखिएको छ ।
बोर्डमा सामाजिक दूरी कायम गर्न, मास्क लगाएर हिड्न, अनावश्यक हिँडडुल नगर्न, स्वास्थ्यका मापदण्ड पालना गर्न, ट्राफिक नियमको पालना गर्न लगायत आग्रह गरिएको छ । ट्राफिक प्रहरीले अहिले विभिन्न ४५ ठाउँमा संयुक्त चेक प्वाइन्ट राखेको छ ।
१४ सय ४५ ट्राफिक प्रहरीलाई काठमाण्डौका विभिन्न एक सय ५२ ठाउँमा खटाइएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।
प्रतिक्रिया