नेकपा सचिवालय बैठक : वामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णय

नेपालखोज २०७७ भदौ १८ गते १८:४९

काठमाडौं । नेकपाको सचिवालय बैठकले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ ।

यसअघिको सहमति अनुसार उनलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरिएको हो । राष्ट्रपतिले मनोनित गर्ने १ सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गरिने निर्णयसँगै अर्थमन्त्री युवराज खतिवडाको पद सकिने सम्भावना देखिएको छ ।

खतिवडा राष्ट्रपतिको सिफारिसमा मन्त्री बनेका हुन् । राष्ट्रियसभामा राष्ट्रपतिले मनोनीत गर्ने कोटामा नियुक्त भएका अर्थमन्त्री युवराज खतिवडाको २ वर्षे कार्यकाल गत फागुन २० गते सकिएको थियो ।

सांसद नभए पनि ६ महिनासम्म मन्त्री हुने पाउने संवैधानिक व्यवस्था अनुसार खतिवडा अब आउँदो शनिबारसम्म मात्र मन्त्री हुन पाउनेछन् । यस अवधिमा संघीय संसदको सदस्य नभए उनी स्वतः पदमुक्त हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया