अर्थ तथा सञ्चारमन्त्रीको राजीनामा आउँदै, मन्त्रीमण्डल पुनर्गठन नहुने

नेपालखोज २०७७ भदौ १९ गते १४:५३

काठमाडौं । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले शुक्रबार साँझ राजीनामा दिने बताएका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकमा अर्थ तथा सञ्चारमन्त्री डा. खतिवडाले राजीनामा दिने घोषणा गरेका हुन् । बैठकमा अर्थमन्त्रीको राजीनामाको विषयमा छलफल भएको र अर्थमन्त्री अब राष्ट्रियसभा सदस्य नरहने भएपछि उनलाई राजीनामा दिन सुझाइएको थियो । यस्तै मन्त्रिपरिषद् बैठकमा ओलीले हालसम्मको सहयोगका लागि खतिवडालाई धन्यवाद पनि दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर नहुने भन्दै ढुक्क भएर काम गर्न मन्त्रीहरुलाई आश्वासन दिएका छन् ।

बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्रीले राष्ट्रियसभा सदस्यको रिक्त एक सिटमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णयमा पुगेको बताएका थिए । राष्ट्रियसभाको सिटमा पार्टीले गौतमलाई सिफारिस गरेपछि खतिवडा संसद सदस्य नहुने भएकाले उनले मन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको हो ।

प्रतिक्रिया