शनिबार, वैशाख ८, २०८१

जापानी कम्पनीद्वारा उड्ने कारको परीक्षण सफल

नेपालखोज २०७७ भदौ २१ गते १३:५६

एजेन्सी । २०७७ स्काइ ड्राइभ इन्क नामक एक जापानी कम्पनीले एसडी–३० नाम गरेको उड्ने कारको परीक्षण सफल भएको घोषणा गरेको छ ।

उक्त कार दुई साताअघि सार्वजनिक परीक्षण गरिएको कम्पनीले बताएका छन् । विश्व प्रसिद्ध टोयोटा कम्पनीको कार परीक्षण स्थलमा स्काइ–कारको परीक्षण गरिएको थियो । जापानको इतिहासमै पहिलोपटक उड्ने कारको सार्वजनिक परीक्षण गरिएको हो ।

उक्त कारलाई कम्पनीको अनुभवी पाइलटले चार मिनेट जति सफलतापूर्वक उडाएका थिए । कम्पनीका सिइओ तोमोहिरो फुकुजावाले भने मानवसहितको कार उडानमा सफलता प्राप्त भएकोमा हामी असाध्यै उत्साहित छौ र हामी यो सुरक्षित‚ सहज र धेरैको पहुँचमा पुगोस भन्ने चाहन्छौं । उनका अनुसार कम्पनीले उक्त कारको व्यवसायीकरण गर्ने लक्ष्य राखेको छ ।

कम्पनीका अनुसार एसडी–३० विश्वकै सानो इलेक्ट्रिक स्काइ–कार हुनेछ‚ जसलाई दुईटा कार पार्क गर्न चाहिनेजति क्षेत्रबाटै उडाउन र अवतरण गर्न सकिनेछ । सुरक्षाका लागि कारमा आठवटा मोटर इञ्जिन जडान गरिएका छन । यसलाई भविष्यमुखी‚ चमत्कारिक र उपभोक्ताले रुचाउने किसिमको डिजाइन दिन खोजिएको डिजाइन निर्देशक ताकुमी यामामोतले बताए ।

कम्पनीले उक्त स्काइड्राइभ कार सन् २०२३ सम्ममा बजारमा ल्याउने लक्ष्य राखेको छ । कारको सम्भावित मूल्यबारे भने कम्पनीले केही बताएको छैन ।

प्रतिक्रिया