उपत्यका प्रवेशमा थप कडाइ गरिने
काठमाडौं । काठमाडौं उपत्यका भित्रका तीनवटै जिल्ला प्रमुख अधिकारीहरुले काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा उपस्थिति भएका उपत्यका भित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारहरुले उपत्यका प्रवेश गर्ने र बाहिरिने मानिसहरुको आवागमनमा थप कडाइ गर्नुपर्ने बताएका हुन् ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँचवटै नाकामा सेना परिचालन गर्नुपर्ने बताए । उनले चाहेर पनि र नचाहेर पनि दैनिक २ हजार भन्दा बढी मान्छेलाई भित्र्याउनु परेको उल्लेख गर्दै नाकालाई ठप्प पार्न नसकिने बताए । अहिले पनि विभिन्न ढुवानीका साधनमार्फत मानिसहरु आवतजावत भइराखेकाले त्यसलाई कडाइ गर्न सेना परिचालन गर्नुपर्ने आवश्यकता देखिएको दाहालले बताए ।
दाहालले प्रहरीले निगरानी गर्न नसकेको नभई प्रहरीले धेरै काम गर्नुपर्दा भ्याइ नभ्याई भएकाले सीमा नाकाको निगरानी कमजोर भएको बताए । भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उपत्यका प्रवेश गर्ने नाकाहरुबाट मान्छे प्रवेश गराउन माथिल्लो तहका जिम्मेवार निकायबाट दबाब आउने गरेको बताइन् ।
प्रतिक्रिया