मंगलबार, वैशाख ११, २०८१

‘कोरोना रहे पनि निर्धारित मितिमै ओलम्पिक आयोजना गर्छौं’- उपाध्यक्ष कोट्स

नेपालखोज २०७७ भदौ २२ गते १७:१७

एजेन्सी ।अन्तर्राष्ट्रिय ओलम्पिक समितिका उपाध्यक्ष जोन कोट्सले पूर्वनिर्धारित मितिअनुरुप नै ओलम्पिक खेल आयोजना हुने बताएका छन् ।
समितिले सन् २०२१ को जुलाई २३ बाट प्रतियोगिता थाल्ने गरी मिति तय गरेको छ । उनले भने‚ ‘कोभिड–१९ रहे पनि नरहे पनि जापान ओलम्पिक आयोजना हुन्छ’ ।

गत जुलाईमै सुरू हुनुपर्ने प्रतियोगिता कोरोनाको डरका कारण सारिएको थियो । ओलम्पिक समितिले एकपटकलाई खेलको मिति सारिए पनि २०२१ भन्दा पर नधकेलिने बताएको हो । कोरोनाको कहर चलिरहेको बेला प्रतियोगिताबारे आफ्नो राय प्रकट गर्दै कोट्सले यसलाई ‘अँध्यारो सुरुङको पुछारमा देखिएको उज्यालो’ को रुपमा लिइनुपर्ने बताए ।

‘सीमित दर्शक हुन सक्छन’‚ टोकियो–२०२० का प्रमुख कार्यकारी तोशिरो मुतोले भने‚ ‘तर‚ दर्शकविहीन हुने अवस्था नआओस भन्ने हाम्रो चाहना छ ।’ उनले खेलको उद्घाटन र समापन समारोह पहिले–पहिलेजस्तो भव्य नहुने र विभिन्न देशबाट आउने खेलाडी तथा डेलिगेसनको संख्यामा पनि कटौती गरिने बताए ।

ओलम्पिक–२०२० मा दुई सय देशका ११ हजार खेलाडीले भाग लिनेछन । अहिले जापानले विदेशबाट आउने यात्रुहरूमा कडाइ गरिरहेका सन्दर्भमा यही स्थिति कायम रहे ठूलो संख्यामा खेलाडीलाई कसरी जापान लैजाने भन्ने अन्यौल कायमै छ ।

प्रमुख कार्यकारी मुतोले भ्याक्सिनलाई अनिवार्य सर्त नबनाइएको बताए । स्वास्थ्यविद्हरूले भ्याक्सिन नबनेको खण्डमा खेल आयोजना गर्न सकिनेबारे आशंका जनाएका थिए । ‘भ्याक्सिन बन्यो भने त राम्रो भैहालयो’‚ मुतोले भने‚ ‘हैन भने पनि हामीले को–भ्याक्सलाई अनिवार्य सर्त बनाएका छैनौ ।’

यसअघि‚ सन् २०२१ मा पनि ओलम्पिक–२०२० आयोजना हुने नसके प्रतियोगिता नै रद्द हुने बताइएको थियो । यसबारे व्याख्या गर्दै आइओसीका अध्यक्ष थोमस ब्याचले भनेका थिए‚ ‘आयोजक समितिमा ३ हजारदेखि ५ हजार मानिस आबद्ध छन हामी त्यत्रा मान्छेलाई रोजगारी दिएर लामो समय धान्न सक्दैनौं । वर्षैपिच्छे संसारभरका खेलकूद संघहरूको खेल–तालिका परिमार्जन गरिराख्न पनि सम्भव हुँदैन ।’ युद्धका कारण रद्द भएको तर स्थगित नभएको ओलम्पिकको इतिहास छ ।

प्रतिक्रिया