मंगलबार, असार ५, २०८१

नेकपा स्थायी कमिटी बैठक टुंगियो : महाधिवेशन चैत २५ देखि ३० गतेसम्म गर्ने निर्णय

नेपालखोज २०७७ भदौ २६ गते १७:१८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटीको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीको कार्यकारी अधिकारको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिने र अर्का अध्यक्ष केपी शर्मा ओली सरकार सञ्चालनमा केन्द्रित हुने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सरकारले दैनिक कामकारवाही जारी राख्न सक्ने तर राष्ट्रिय महत्वका विषयमा पार्टीको निर्णय सरकारले मान्नुपर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए । उनकाअनुसार त्यस्तो प्रस्ताव आएमा सचिवालयको सुझाव, दुई अध्यक्षको सहमतिमा निर्णय हुनेछ ।

त्यस्तै बैठकले पार्टीको महाधिवेशन चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । त्यस्तै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय पनि भएको छ ।

के संशोधन गर्ने भन्ने वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुुझावअनुसार पार्टीमा छलफल गरेर निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए । आज बसेको स्थायी कमिटी बैठकको सुरुमै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली आफ्नो भनाइ राखेर बाहिरिएका थिए ।

 

प्रतिक्रिया