शुक्रबार, वैशाख १२, २०८२

आईपीएल खेल्न सन्दीप यूएई प्रस्थान

नेपालखोज २०७७ भदौ २७ गते २१:१२

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लागेका छन् । उनि क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर आज यूएई प्रस्थान गरेका छन् ।

ट्रिनडाड एण्ड टोबागोबाट नेपाल नफर्केरै सन्दीप सोझै युएई गएका ब्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । आईपीएल खेल्न सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी पनि युएईतर्फ लागेका छन् । यस वर्षको आईपीएल कोरोना भाइरसको महामारीका कारण भारतमा नभइ युएईमा हुँदैछ । सन्दीपले लगातार तेस्रो वर्ष दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न लागेका छन् ।

आईपीएल आगामी असोज ३ गतेदेखि सुरु हुँदैछ । सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सको पहिलो खेल असोज ४ गते किंग्स इलाभेन पञ्जावसित हुनेछ । उनलाई दिल्ली क्यापिटल्सले रु ३२ लाखमा अनुबन्ध गरेको हो ।

सन्दीप सिपिएल खेल्न गत साउन १५ गते ट्रिनिडाड एन्ड टोबागो गएका थिए । नियमित उडान बन्द भएको अवस्थामा सन्दीप कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो गएका थिए । यस वर्षको सिपिएलका लागि जमैका तलावाजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो । सन्दीपले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् ।

सन्दीपको किफायती बलिङको मद्दतमा जमैका सेमिफाइनलसम्म पुगेको थियो । सीपीएलमा सन्दीपले ११ खेलमा १२ विकेट लिएका थिए । सन्दीप सीपीएलमा सर्वाधिक विकेट लिनेको सूचीमा छैटौँ स्थानमा रहेका छन् ।

प्रतिक्रिया