शुक्रबार, वैशाख १२, २०८२

नेपाल फाइनान्सको आठ वर्षको संयुक्त साधारणसभा असोज १० मा, हकप्रद र मर्जरको प्रस्ताव

नेपालखोज २०७७ भदौ २९ गते १४:१०

काठमाडौं । नेपाल फाइनान्सले ८ वर्षदेखि बाँकी रहेका सबै साधारणसभा संयुक्तरूपमा असोज १० मा आयोजना गर्ने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०६८/६९ देखि २०७५/७६ सम्मको २० औंदेखि २७औं वार्षिक साधारणसभा गर्न सकेको छैन । बाँकी रहेको सबै साधारणसभा कम्पनीले एकैपटक भदौ ११ मा गर्नेगरि सेयरधनीहरूलाई बोलाएको भएता पनि कोरोना संक्रमणका कारण निषेधाज्ञा जारीसँगै सभा सम्मेलन सभा स्थगित भएको थियो । कम्पनीको आइतबार बसेको संचालक समिति बैठकले बाँकी रहेका सबै वर्षको साधारणसभा आगामी असोज १० मा गर्ने निर्णय गरेको छ । उक्त दिन कम्पनीको सभा केन्द्रीय कार्यालय, कमलादीमा बिहान ११ बजेदेखि सुरू गर्ने निर्णय सञ्चालक समिति बैठकले गरेको जनाइएको छ ।

कम्पनीले आर्थिक वर्ष २०६८/६९ देखिको वार्षिक वित्तीय विवरण पारित गर्ने र लेखा परीक्षकको नियुक्ति अनुमोदन लगायतका प्रस्ताव सभामा लैजाँदै छ । कम्पनीले मर्जर तथा प्राप्तिका लागि आवश्यक प्रक्रिया बढाउन संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश गर्ने बैठक समितिले बताएको छ । यस्तै, कम्पनीले १ः१/७५ को अनुपातमा १७५ प्रतिशत हकप्रद सेयर जारी पनि साधारणसभाको अर्को एजेन्डा रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ३० करोड ५५ लाख रुपैयाँ छ । प्रस्तावित हकप्रदपछि यो ८४ करोड २ लाख रुपैयाँ पुग्नेछ ।

साधारण सभा प्रयोजनकालागि कम्पनीले सेयरधनी दर्ता पुस्तिका साउन २६ मा बन्द गरेको थियो । यसअनुसार साउन २५ सम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन तथा हकप्रद सेयर निष्कासनपछि यसको खरिद आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया