बिहीबार, वैशाख १३, २०८१

को ठूलो ? भाइरस कि मानव !

नेपालखोज २०७७ भदौ ३० गते १९:११

विश्व कोरोना भाइरसका कारण त्राहीत्राही भाको छ रे ! खै मलाई त्यस्तो लाग्दै लाग्दैन । त्राही त्राही भए त, कराउनु पर्ने चिच्याउनु पर्ने दौडादौड गर्नुपर्ने ? तर, सवै थुनिएर बसेका छन्, आनन्दले । त्यस्तो भएपछि कसरी त्राही छन् भन्नु ?

मट्याङ्ग्रोको ६ महिने अनुसन्धानले के प्रतिवेदन पेश गरेको छ भने उपल्लो सदनदेखि महापल्लो सदनसम्म भयावह र त्राही त्राहीमा त ठूला–ठूला ओखती वेपारीहरु पो देखिए । विशेष गरी सर्कारी कर्मचारी त्यसमा पनि भण्डाराँ काम गर्ने र लेऽखाँ मा काम गर्ने !

विचराहरुलाई त्राहीत्राही देखियो भागाभाग विहान उठ्ने वित्तिकै कार्यालयतिर भागदौड, कार्यालयमा पुगेर सप्लायर्ससँगको मिलेमतोका लागि भागदौड, केन्द्रीय बैकले छापेको कागजपत्र मिलाएर एनजिओले दिएको ब्यागमा मिलाएर घरतिर दौडनुपर्ने ! कम गाह्रो छ, भोकप्यास नभनी दिनरात खटिनुपर्ने अनि दोष चाहिँ त्यो बजिया भाईरसलाई ।

आउन पनि कस्तो गज्जवको बेला आको । चीनमा पनि वर्षको अन्त्यमा हाम्रामा पनि आर्थिक वर्षको अन्तिम चौमासिक पैसा खर्च गर्ने ट्याममा, यो बजियाले पनि घुस खायो कि क्यो हो । साउन भदौमा आको भएपनि त हुन्थ्यो नि नेपालाँ । त्यसो भाको भए यसो बजेट अलि धेरै व्यवस्थापन गर्न त मिल्थ्यो ।

वास्तविक रुपमा नै भन्ने हो भो भयावह भाइरस होइन नि, भयावह त मानवहरु हुन् ! लखरलखर मानव हिँडेका हुन् कि भाईरस ? जे पायो त्यही बोल्ने ? आफू वास्ता नगर्ने अनि दोष चाहिँ भाइरसलाई दिने । कम्तिमा यो भाईरस आईदिएको थियो र त हजारौं मानिसहरु घरभित्र छन् । नेपाल सरकारले लिएको लक्ष्य हासिल भएको छ । मानौ सुखी नेपाली समृद्ध नेपाल । अहिले सारा नेपाली घरभित्र खाने, बस्ने, सुत्ने । टिकटक बनाउने रमाउने गरिरहेका छन् । यस्तो खुशी न हिजो थियो न भोली आउने छ । हाम्रा पुर्खाले नभोगेको नलिएको आनन्द हाम्रा पुस्ताले लिन पाएको छ । धन्य छौ कोरोना तिमी आयौं र हामीले मस्ती मार्न पायौं ।

अझ मस्ती त ७५ प्रतिशत रक्सी बेच्नेले ग¥यो । उ बेलाँ रक्सी बेच्दा पुलिसले च्याप्प समातेर पसलको रक्सी पोखिदिएर जरीवाना तिराउँथ्यो । अहिले हेरौ त, ७५ प्रतिशत रक्सी हातमा दलेर हिँडेन भने पुलिसले च्याप्प समाउँछ ।
६ महिना अघिसम्म बैंकमा बिरामीले मुख छोरेर जाँदा अनुहार देखाएर मुख नछोपी भित्र छिर्नुस भन्दै चोर जस्तै गर्दथ्यो । अहिले त्यही कोरोनाले मुख छोपेर बैंक लुट्न गएपनि केही बोल्दैन क्या ज्ञानी भन्दै निधारमा ज्वरोको गोली ताकेर हातमा रक्सी दलाएर मात्र पठाउँछ अनि कोरोना भयावह कि हामी मानव ?

एक्काइसौ शताव्दीको महान हामी मानव । मान्छे देखेर मान्छे भाग्नुपर्ने । दुई पाङ्ग्रेमा संगिनीलाई सँगै लिएर जाँदा पुलिसले सुरक्षा भएन भन्दै ओरालेर बुढा एकातिर बुढीलाई अर्कोतिर जानुस् भन्ने ! सँगै टाँसिएर दुई पाङ्ग्रेमा हिँड्ने भन्दै फलामे जालीले तान्ने व्यवस्था ल्याईदिएको छ । यो भन्दा महान् सत्कर्म के हुन्छ ।

ऊ बेला मट्याङ्ग्रो देश विकास गर्नुप¥यो भन्दै बाउ बाजेको सम्पत्ति बेचेर अम्रिका र जाऽ पान, असटिलिया भासिएको थियो । जावो एक पाना पासपोटमा आधा पाना दूतावासले छाप लगाईदिओस् भनेर विसौं लाख तिर्दा पनि मान्दैनथ्यो । बल्ल बल्ल उताको गाको मट्याङ्ग्रा भाईरस दाईको कारण मरिएला कि भन्ने डरले मर्नैपरे आफ्नै जन्मभूमिमा मर्छु भनेर देश फर्कन्छु भन्दा पनि फर्कन नदिने दिन कसले ल्यायो । यही भाईरसले होइन ? भनेपछि भाईरस भयावह कि मानव ? कसले के भन्छ थाहा छैन तर मट्याङ्ग्रो को एउटै अभियान अहिलेको वर्तमान परिस्थितिमा मानव भन्दा भाइरस नै ठूलो । हो जय कोरोना भाईरस ।

प्रतिक्रिया