सोमबार, वैशाख १७, २०८१

आदर्श प्रेम

सुभद्रा ढकाल २०७९ फागुन २ गते ७:००

त्यसबेला ऊ पोखरा बसेर फरेष्टी साइन्स पढ्थ्यो । म आरआरमा नेपाली साहित्य पढ्थें । म प्राय: सामाजिक संजालमा आफ्नो विचार राखिरहन्थें । पत्रपत्रिकामा अलिअलि लेख लेख्थें ।  ऊ मेरो लेखाइबाट ज्यादै प्रभावित भएको रहेछ । साइन्स र साहित्य नितान्त अलग विषय हुन् । फेरि कसरी मिल्यो हाम्रो केमेष्टी ?

उसले मलाई बारम्बार मेसेज गरिरहन्थ्यो । म सकेसम्मको रिप्लाई गर्थें । च्याटमा देशको राजनीतिक अस्थिरता, समाजमा भएको अराजक गतिविधिको बारेमा हाम्रो बहस भैरहन्थे । हामी एक अर्काको विचारको सम्मान गथ्र्यौं ।

मेरो दिउँसोको जागिर र बेलुकाको पढाइ थियो । कोठामा पुग्दा साँझको सात आठ बजिसक्थ्यो । मैले आफूलाई रोबर्ट जस्तै सम्झन्थें । जब कोठामा पुग्थें उसको म्यासेजले मान्छे बनाउँथ्यो ।

हाम्रो च्याटमा कुरा भएको एक वर्षपछि ऊ मलाई भेट्न काठमाडौं आयो । ऊ आएपछि मेरो मनमा चन्द्रमा उदाए । केही समय बसेर पोखरा फर्कियो । च्याटमा हाम्रो संवाद उसैगरी दोहोरियो । हामी राजनीतिबाट प्रेमसम्म पुग्यौं । प्रेम प्रस्ताव उसैले राख्यो । मैले सोचेर उत्तर दिन्छु भन्दिएँ ।  ऊ काठमाडौं आउँदा मसँग भेट भैरहन्थ्यो । थाहै नपाई हामी प्रेममा परिसकेछौं ।

उसको बिएस्सी सकियो । मैले एमए सकें । ऊ लोकसेवा पढ्न काठमाडौं आयो । त्यसपछिका दिनमा हाम्रो निरन्तर भेट हुनथाल्यो। ऊ साइन्सको विद्यार्थी भए पनि साहित्य मन पराउन्थ्यो । प्राय:जसो हामी थिएटरमा नाटक हेर्न गइरहन्थ्यौं ।

नाटक, साहित्यिक जमघट, कफी र चिया हाम्रा दैनिकी हुन्थे । ऊ मलाई विवाहदेखि मृत्यु हुने बेलासम्मको सपना देखाउँथ्यो । हामी आफन्तको आँखा छलेर कहिले नगरकोट, कहिले गोदावरी पुग्थ्यौं ।  जिन्दगी आफ्नै रप्तारमा कुदिरहेको थियो ।

जिन्दगीमा दुइटा कुरा सधै विशेष लागे । एउटा कफी अर्को ऊ । मेरा खुसीका आधार यिनै दुई हुन् सोच्थें । माघ महिनाको एक साँझ उसको फोन आयो। आफू डिल्लीबजारको हिमालयन क्याफेमा रहेको बताउँदै छिटो आउन आग्रह गर्‍यो ।

साँझ परिसकेकाले सडक किनारमा बत्ती बल्न थालिसकेका थिए। सडकमा गाडीको रप्तार उस्तै ।  बाहिर चिसो भए पनि मनको मायाले मौसमलाई जित्यो ।  उमंग र खुसी बोकेर म कोठाबाट निस्किएँ । उसलाई सम्झँदै कति छिट्टै डिल्लीबजार पुगेछु पत्तो पाइनँ । म मुस्कुराउँदै उसको नजिक पुगें । झुस्सपालेको दाह्री। ग्रहण लागेजस्तो अनुहार। अँध्यारो मुस्कुरायो ।  ऊ चुपचाप थियो । दुई कप चिया मगाएँ । उसले व्यागबाट केही निकालेजस्तो गरेर मेरो हातमा थमाइदियो। हेरेँ,विवाहको कार्ड रहेछ ।

कार्डमा नाम हेर्दै थिएँ। ऊ पिसाव लागेको बहाना गरेर बाथरूमतिर लाग्यो। केही समयपछि आउँदा उसका आँखा रसाएका थिए। पिसाब फेरेर उसको शरीरमा शीतलता प्राप्त भयो कि मनमा? मैले जानिनँ ।

‘अहो ! विवाह गर्दै रहेछौ व्यापक बधाइ,’ मैले भनें ।

उसको ओठका घाम अस्ताए।

‘किन निरास हुन्छौ साकार ? बिहे गर्दैछौ। नयाँ जिन्दगी सुरू हुँदैछ ।’

साकारले भन्यो, ‘मलाई माफ गर । मैले साथ दिन सकिनँ । घरकाले चिना मिलेन भनेर तिमीलाई अस्वीकार गरे । मैले बाबाआमा त्याग्न सकिनँ । उहाँहरूले खोजेकासँग विवाह गर्नुपर्ने बाध्यतामा फसें ।’

उसका कुराले शरीरको कमजोर अङ्गमा चुम्बन गर्‍यो । तर  आफूलाई बलियो बनाउने प्रयास गरिरहें ।

भनें, ‘प्रेम र विवाह जिन्दगीका अलग पाटा हुन् साकार ।’

के विवाह गर्दैमा प्रेम सकिन्छ र ?

प्रेमको अन्तिम गन्तव्य विवाह हो र ?

संसारमा धेरैका प्रेम असफल भएका छन् । प्रेम असफल हुनु भनेको मुटुको माया सकिनु होइन । दूरी बढ्नु भनेको बिर्सनु होइन ।

विवाहजस्तो ‘तुच्छ सम्झौता’ले प्रेमजस्तो पवित्र सम्बन्धलाई मार्न सक्दैन । तिमी तिम्रो जिन्दगीमा खुसी रहनू । तिम्रा आगामी जिन्दगी सुखद रहून् । चिना मिलेकी केटीसँग तिम्रो मन पनि मिलोस् परिवारको खुसी पनि मिलोस् । ’

उसले भन्यो, ‘माफ गर्छौ त मलाई ?

उसले कस्तो गल्तीको माफ खोजेको हो ? के प्रेम गर्नु गल्ती हो र ?

मैले भनें, तिमीले गल्तीले नै के गरेका छौ र साकार ? म तिमीलाई माफ गरूँ?

मेरा कुराले  फेरि उसका आँखा भरिए । रोक्ने प्रयास गर्दै थियो सेतो सर्टमाथि तप्प आँसु खसे ।

कस्तो अचम्म ! प्रेम प्रस्ताव राख्ने ऊ । विवाहको सपना देखाउने पनि ऊ । विवाहको कार्ड बोकेर भेट्न आउने पनि ऊ । अनि ऊ फेरि रूने पनि ऊ? कति अजिव छ है दुनियाँ!

अहो ! टेवलमा चिया सेलाइसकेछ।

उसले एकैपटक चिया पिएर भन्यो, ‘म अब निस्कन्छु।’

मैले उसलाई रोक्न सकिनँ।

म उसको विवशता बुझ्थें । मलाई थाहा छ मान्छेले जिन्दगी पाउने भनेको एक पटक मात्रै हो ।

उसको जिन्दगीमा । उसको रहरमा । उसका सपनामा । म कहिल्यै पनि हस्तक्षेप गर्न सक्दिनँ ।

सेलाएको चिया र मर्न लागेका आफ्नो जिन्दगीको रहर सम्झें । त्यसपछि लाग्यो, जिन्दगी उसको हो रहर उसका हुन् । मैले मन सानो बनाएर उसलाई रोक्न हुँदैन।  उसले चाहेको जस्तो जिन्दगी बाँच्न दिनुपर्छ।

बाहिर बत्तीको झिलिमिली उस्तै थियो। मेरो मनमा निभेको दियो फेरि बल्न सक्ला त ?आफैंसँग प्रश्न गरें ।

उसले छोडेर गयो खुसी होस्। म उसलाई आदर्श प्रेम गर्छु।

प्रेम त मैले उसलाई अथाह गरेको थिएँ । कुनै आश र अपेक्षा नगरी । फेरि सम्झें, आफ्नो समय त्यसको निम्ति खेर फाल्नु हुँदैन जसले मेरो प्रेम चिन्न सकेन।

ऊ निस्केपछि विगतका घटनाहरू आँखामा आइरहे । अघिको उत्साह र उमंग हरायो। शरीर र मुटु दुवै चिसा भए।

आफूलाई सम्हाल्नभन्दा अर्को विकल्प थिएन । चुपचाप निस्किएर पुतली सडकतिर लागें।

***

कोठामा पुगें । फेसबुक खोलें। बुद्धिसागरको एउटा  नयाँ स्टाटस पोष्ट भएछ । ‘मान्छेलाई चिन्नु ज्ञान हो भने मैले तँलाई चिने भन्नु अज्ञानता हो ।’

मैले मेरो प्रेम चिनें । हैसियत थाहा पाएँ । एउटा नमिठो भ्रमबाट मुक्त भएँ ।

उसले दिएको पीडा मुटुमा सुल बनेर रोपियो तर कुनै प्रतिक्रिया जनाइनँ ।

अचेल सामाजिक संजालमा दु:ख, पीडा, धोका, वेदनाको चित्कार मात्र सुन्न पाइन्छ । यस्ता अभिव्यक्तिले थाहा हुन्छ कि संसारमा धेरै मान्छे खुसी छैनन्।

मलाई वर्तमान युवा पुस्ताको प्रेम त्यति मन पर्दैन। मन परुन्जेल आफ्नो प्रेमी प्रेमिकाको फोटो र प्रेमिल अभिव्यक्ति सामाजिक संजालमा छरपष्ट बनाउँछन्। मन पर्न छोडेको दिन व्लक लिस्टमा राख्छन्। उसको खराब पक्षको व्याख्या गर्न थाल्छन्। विशेषगरी प्रेमलाई विवाहमा जोड दिन्छन् ।

तर म त्यसो गर्ने छैन । साकारसँग बिहे नभए पनि म उसलाई  प्रेम गरिरहन्छु ।

केहीदिन उसले फोन गरेन । मैले पनि डिस्टर्व गर्न जरूरी ठानिनँ। म आफ्नो काम र करिअरमा फोकस हुनथालें ।

विवाह हुनुभन्दा ५ दिन अगाडि एक बिहान उसको फोन आयो। पुरानै शैलीमा बोलें। सामान्य कुराकानीभन्दा बढी केही भएन ।

उसले आफूलाई केही सहयोग गर्न आग्रह गर्‍यो । नाइँ भन्न सकिनँ। उसलाई सपिङ गर्ने साथीको आवश्यकता रहेछ ।

दिउँसो हामी महाबौद्धमा भेटियौं । साँघुरो बाटो छिचोल्दै असन पुग्यौं । मैले उसँग गरेका सयौं यात्रा सम्झें । बाटोका वारिपारि राखेका श्रृङ्गारका पसल देख्दा कटक्क मन खान्थ्यो। राता साडी र घुम्टोको पसल देख्दा भक्कानिन्थें । उसले भर्खर प्रेम बसेको बेलामा गरेकाबाचाहरू सम्झिन्थें ।

कयौं पटक उसको हात समाएर हिँडेको गल्लीमा उसको हात छुट्ने बेलामा उसलाई कसरी सम्बोधन गरूँ?

हामी श्रृङ्गार पसलमा छिर्‍यौं। अपसोच ! म भाग्यमा श्रृङ्गार नभएकी मान्छे ।  उसले एक पटक भूगोल पार्कमा बस्दा भनेको थियो तिमी बेहुली हुँदा कस्ती देखिन्छौ होला?

म लाजले निहुरिएकी थिएँ । मेरा मनमा गुराँस र पारिजात एकै पटक फुलेका थिए । तिनैदिन सम्झेँ । मुटु चिसो भयो ।

वैगुनीले आफैंले खनेको बाटोमा आफैंले काँडा लगायो ।  उसले दुलहीका लागि रातो चुरा किनिसकेछ। म झस्कें। सामान्य जस्तो देखिए पनि मनमा पीडाको बाढी उर्लिएको थियो। असन, इन्द्रचोक, न्युरोड पूरै घुमेर उसको विवाहको लागि सामान किनियो ।

फर्कंदा रात परिसकेको थियो। मैले असल साथी बन्ने प्रस्ताव राखेँ। ऊ मुस्कुरायो अनि भन्यो, ‘आज ढिला भयो कुनै दिन भेटौंला।’

नाइँ भन्ने हिम्मत गरिनँ।

एक्लै कोठामा फर्कें।

प्रेम गरियो विवाह भएन । असल साथी बनेर साकारलाई दु:खमा साथ दिन्छु सोचकी थिएँ ।

कोठामा पुगें । बत्ती बाल्न पनि मन लागेन । त्यसो त यहाँभन्दा पहिला उज्यालोसँग मेरो कुनै दुस्मनी थिएन ।

बाहिर सामान्य देखिए पनि भित्री मनमा पीडाको महासागर थियो । के खराबी थियो र मसँग उसले मेरो प्रेम लत्याएर अरुसँग विवाह गर्दैछ। के छैन र मसँग जो अरू स्वास्नी मान्छेसँग मात्रै छ ।

आँखाबाट आँसुको भल बग्यो। मनमनै भनेँ, निष्ठुरी मेरा आँसुले तिम्रा खुसीका बाटो नछेकून् ।

उसलाई फोन नगरी निदाउन सक्दैनथेँ । तर बानी पार्न थालेँ ।

उसको विवाहको अघिल्लो रात उसलाई बधाइ दिन मेसेज गर्न खोजेँ। उसको नाम फेसबुकमा खोजेँ भेटिनँ । अर्को आइडीबाट सर्च गरेर गरेँ। म त व्लक लिस्टमा परेछु। सम्झेँ, अक्सर प्रेम गर्ने मान्छे व्लक लिस्टमा पर्दा रहेछन् ।

उसले नयाँ स्टाटस पोष्ट गरेको रहेछ । फिलिङ ह्याप्पी । छिट्टै खुसीका दिन सुरू हुँदैछन् …

म पनि खुसी भएँ ।  परिवारले चिना मिलाएछन् । उसले मन मिलाएछ । मसँग कति मिठो अभिनय गर्‍यो । तर पनि उसको जीवन सदा खुसी रहोस् सोचेँ।

घडी हेरेँ । रातको बाह्र बजेछ। फेसबुकमा एउटा स्टाटस पोष्ट गरेँ ।

प्रेम र विवाह फरक विषय हुन्। साकार म तिमीलाई अझै आदर्श प्रेम गर्छु !

प्रतिक्रिया