शनिबार, वैशाख १३, २०८२

कन्टिनेन्टल इन्टरप्राइजेसको फाइनान्सिङ पार्टनर एनआइसी एसिया

नेपालखोज २०७७ भदौ ३१ गते १५:३७

काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेड र के आइ ए ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल टेड्रिङ इन्टरप्राइजेस प्रा.लि. बीच भदौ ३१ गते फाइनान्सिङ पार्टनर बनाउने समझदारी भएको छ ।

उक्त समझदारीपत्रमा बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी  र कम्पनीको  सहायक निर्देशक आशिष पौडेलले हस्ताक्षर गरेका छन् । बैंकले के आइ ए ब्राण्डका उपभोक्ताहरूलाई सवारी कर्जामा थप सहज प्रदान गर्ने उदेश्यले समझदारी भएको हो ।

बैंकले ल्याएको ‘सुपर चमत्कारिक सवारी कर्जामा’ वार्षिक ८.२५ प्रतिशत ब्याजदरमा उक्त ब्राण्डका कारहरू खरिद गर्न सक्ने नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए ।  उक्त सवारी कर्जामार्फत आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै कर्जा प्रवाह गर्न सकिने व्यवस्था रहेको उनले बताए ।   रातो प्लेटका निजी तथा व्यवसायले अधिकतम रू. २ करोडसम्मको कर्जा लिइ सवारी खरिद गर्न सकिने छ भने रातो नम्बर प्लेटका निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत र व्यवसायिक प्रयोजनका सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्ने समझदारीपत्रमा उल्लेख गरिएको छ । यो सुविधा उक्त कम्पनीका देशभर रहेका सम्पूर्ण डिलरहरूबाट सकिनेछ ।

यससँगै सवारी धितो राखेको हकमा ८ वर्षसम्म र सवारी तथा घरजग्गा दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुनेछ । उक्त कर्जा प्राप्त गरेपश्चात् पहिलो वर्षसम्म कर्जाको ब्याजदर परिवर्तन नहुने उनले बताए । साथै ग्यारेन्टीका निमित्त बैंक र ऋणीको बिचमा व्यवस्था हुने कर्जा प्रस्ताव पत्र र बैंकले ब्याजदर सम्बन्धी प्रतिबद्धता पत्रको व्यवस्था गरिनेछ । एक वर्ष पश्चात् बैंकले ८.२५ प्रतिशत वा बेसरेट ८.२५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै यस कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था पनि बैंकले गरेको छ ।

यस बैंकको कुल ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहेको छ ।

प्रतिक्रिया