शनिबार, वैशाख १३, २०८२

५.३६ अंक बढेको बुधवारको बजारमा होटलको शेयरप्रति लगानीकर्ताको आकर्षण बढी, १ अर्ब ८४ करोडभन्दा बढीको शेयर कारोबार

नेपालखोज २०७७ भदौ ३१ गते १५:५७

भदौ ३१, काठमाडौं । बुधवार शेयर बजार ५ दशमलव ३६ अंक बढेको छ । मंगलवार ४ दशमलव ४७ अंक घटेको बजार बुधवार भने बढेर १ हजार ५४१ दशमलव ४० विन्दुमा पुगेको हो । यस दिन ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ८३ अंकले बढेर ३०५ दशमलव ४८ विन्दुमा पुगेको छ ।

परिसूचक संगै मंगलवारको तुलनामा कारोबार रकम पनि बढेको छ । बुधवार १ अर्ब ८४ करोड ५६ लाख ३४ हजार रूपैयाँ बराबरको ६३ लाख ९० हजार ८३ कित्ता शेयर कारोबार भएको हो । मंगलवार १ अर्ब ८० करोड रूपैयाँ बराबरको कारोबार भएको थियो । बुधवारको कारोबारमा पनि कुल कारोबार रकममा सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । यस दिन नेपाल पुनर्बीमा कम्पनीको रू. ९ करोड ६१ लाख ९६ हजार बराबरको शेयर कारोबार भएको हो ।

बुधवारको बजारमा लगानीकर्ता होटल , जलविद्युत र व्यापारिक समूहका कम्पनीको शेयरप्रति बढी आकर्षित भएका छन् । यस दिन होटल समूहको परिसूचक ९ दशमलव शून्य ४ प्रतिशत, जलविद्युत समूहको ४ दशमलव ७१ प्रतिशत, व्यापारिक समूहको २ दशमलव १२ प्रतिशत परिसूचक बढेको छ । यस दिन कारोबारमा आएका १२ समूहमध्य बैंकिङ् समूहको मात्र शून्य दशमलव ३७ प्रतिशत परिसूचक घटेको छ ।

बुधवार सर्वाधिक कमाउनेमा तीन जलविद्युत कम्पनी रहेका छन् । मूल्य कम भएका जलविद्युत कम्पनीहरुको शेयरप्रति पछिल्लो समय लगानीकर्ताहरुको आकर्षण बढ्दै गएको छ । बुधवारको कारोबारमा सिनर्जी पावर डेभलपमेण्ट , बरुण हाइड्रोपावर र घलेम्दी हाइड्रो लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको हो । यस दिन दुई म्युचुअल फण्डको इकाई मूल्य सर्वाधिक घटेको छ । एनआईसी एशिया ब्यालेन्सड् फण्डको ३ दशमलव ८७ प्रतिशत र लक्ष्मी इक्वीटी फण्डको ३ दशमलव ७१ प्रतिशतले इकाई मूल्य घटेको हो ।

धितोपत्र दोस्रो बजारमा पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलता सहज भएसँगै कारोबार गर्नेहरु बढ्दै गएको ब्रोकरहरु बताउँछन् । पूर्ण अनलाईन प्रणालीमार्फत कारोबार गर्दै आएको अवस्थामा बेला बखत देखिने प्राविधिक समस्या पनि पूर्ण रुपमा समाधान हुने हो भने यो क्षेत्रको भविश्य राम्रो रहेको जानकारहरुको भनाई छ ।

प्रतिक्रिया