रानीपोखरीमा भोलिसम्म पानी भरि सकिने
काठमाडौं । काठमाडौंको रानीपोखरीमा धमाधम पानी भरिँदैछ । हालसम्म झण्डै २ करोड लिटर पानी पोखरीमा हालिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको आग्रहमा बाग्मती खानेपानीले पानी राखेको प्राधिकरणका सम्पदा विज्ञ एवं रानीपोखरीको पुनर्निर्माण हेर्दै आएका राजुमान मानन्धरले जानकारी दिए । उनकाअनुसार रानीपोखरीमा ३ करोड २२ लाख लिटर पानी भर्नुपर्नेछ ।
निरन्तर पानी खसाल्ने काम भैरहेको र भोली बेलुकासम्म भरिने मानन्धरले जानकारी दिए । पोखरीको पिँध र पानी रहने पर्खालको काम सकिएसँगै पानी भर्न मिल्ने भएको हो । यसअघि भूकम्पको पाँच वर्ष पुगेकै दिन गएको बैशाख १२ गते यो काम सक्ने कार्यतालिका थियो ।
सबै काम सकेर गएको बैशाख १२ गते रानीपोखरी उद्घाटन गर्ने तयारी भएपनि कोरोना सङ्क्रमण जोखिमका कारण सरकारले लकडाउन गरेपछि काम र उद्घाटन पनि प्रभावित भएको थियो ।
निर्माण व्यवसायी सीएम तुलसी कन्स्ट्रक्शन जेभीसँग गएको असार २४ गते प्राधिकरणले मन्दिर, पुल र पोखरी बाहिरको काम गर्ने गरी १५ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
प्रतिक्रिया