मंगलबार, असार २४, २०८२

बर्दियामा जङ्गली हात्तीको आतङ्क

नेपालखोज २०७७ असोज ३ गते २०:०३

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–१ मा बर्दिया राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको जङ्गलबाट दिनहुँ आउने हात्तीले खेतमा रोपेको धान, भटमासलगायत बालीमा क्षति गर्ने गरेको मधुवन–१ का धनिराम थारूले बताए ।

उनकाअनुसार गएराति हात्ती धपाउन बसेका स्थानीयवासी ४५ वर्षीय कृष्णप्रसाद थारू हात्तीको आक्रमणमा परी घाइते भएका छन् । राष्ट्रिय निकुञ्जबाट आउने हात्तीले बर्सेनि घर भत्काउने, स्थानीयवासीलाई आक्रमण गरी घाइते बनाउने र दर्जनौँ बिघा खेती नोक्सान गर्ने गरेको छ ।

एकातिर कुलो पानीको समस्या अर्कोतर्फ हात्तीको डरले त्रासमै दिन बित्न थालेको थारूले सुनाए । जङ्गली जनावरहरुको क्षति रोक्न र स्थानीयवासीलाई सुरक्षित गर्न आफूहरु निरन्तर लागिरहेको वडाध्यक्ष बिन्तीराम थारूले बताए ।

तारबारमा करेन्ट प्रवाह गर्ने एनेलाइजर मेसिनमा खराबी आएको र तार बाँधिएका पोलहरु ढलेका कारण मर्मतको तयारी भइरहेको थारूले जानकारी गराए ।

प्रतिक्रिया