बुधबार, असार ६, २०८१

मिडिया सोसाइटी फुटेर मिडिया अलाइन्स नेपाल गठन

नेपालखोज २०७७ असोज ७ गते १७:०२

काठमाडौं । मूलधारका राष्ट्रिय न्यूज मिडिया संस्थाहरूले संचार उद्योगको व्यवसायिक हक हितका लागि बुधबार एक समारोहबीच मिडिया अलाइन्स नेपाल स्थापना गरेका छन् । एभिन्यूज टेलिभिजनका अध्यक्ष भाष्करराज कर्णिकार अलाइन्सको अध्यक्षमा तथा सल्लाहकारमा अन्‍नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्‍वर थापा र रिपब्लिका मिडिया प्रालिका अध्यक्ष विनोद ज्ञवाली रहेका छन् ।

त्यसैगरि राजधानी न्यूज पब्लिकेशन प्रालिका महेन्द्र शेरचन र माउन्टेन टेलिभिजनका अध्यक्ष राजु कँडेल उपाध्यक्षमा रहेका छन् । इमेज च्यानलका सिइओ लक्ष्मण हुँमागाइ महासचिवमा र इप्रेशन पब्लिकेशन्स तथा मिडिया प्रालिका अध्यक्ष उज्जवल शर्मा कोषाध्यक्षमा रहेका छन् ।

कार्यसमितिको सदस्यमा रिपब्लिका मिडियाका सिइओ समृद्धि ज्ञवाली, प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमला र एपीवान टेलिभिजनका उपाध्यक्ष राजेन्द्र शाक्य रहेका छन् ।

उक्त समारोहमा अध्यक्ष कर्णिकारले कुनै राजनीतिक मिसन वा उद्देश्यले प्रेरित नभएको र विशुद्ध व्यवसायिक हक हितका लागि अलाइन्स गठन भएको बताए । मिडिया उद्योगको उत्थानका लागि व्यवसायिक रुपमा काम गर्ने उनले बताए ।

अलाइन्सका सल्लाहकार तथा अन्‍नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्‍वर थापाले राष्ट्रियता र लोकतन्‍त्रप्रति प्रतिबद्ध भएर काम गर्ने बताए । उनले भने, यो अलाइन्सको पहिलो सर्त नै लोकतन्‍त्र र राष्ट्रियता हो । थापाले कोरोना माहामारीलगायतका कारणले मिडिया यतिबेला संकटमा रहेको बताउँदै मिडियालाई संकटबाट जोगाउन राज्यले पहल गर्नुपर्ने सुझावसमेत दिए ।

अलाइन्सले संचार क्षेत्रलाई निश्पक्ष, तटस्थ र उत्तरदायी बनाउँदै संचार क्षेत्रका लगानीकर्ताको हकहितको संरक्षण गर्ने मुख्य उद्देश्य रहेको छ ।

प्रतिक्रिया