बिहीबार, चैत १५, २०८०

देशभर एक हजार बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

नेपालखोज २०७७ असोज ८ गते ९:५०

नेपाल खोज डेस्क,

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमणको हटस्पट बनेको काठमाडौंमा फ्रन्टलाइनमा खटेका स्वास्थ्यकर्मीहरु पनि उत्तिकै मात्रामा संक्रमित भएका छन् ।

काठमाडौं उपत्यकामा मात्रै सयौँको संख्यामा स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार स्वास्थ्यकर्मी बिरामी पर्दा उनीहरूले दिने सेवा पनि घटेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सयौँ स्वास्थ्यकर्मी संक्रमित भएपनि अहिले मन्त्रालयले सेवा प्रभावित हुन नदिन व्यवस्थापन गरिरहेको बताए ।

प्रवक्ता डा. गौतमले काठमाडौं उपत्यकामा बढोत्तरी भइरहेको संक्रमितको संख्याले चिन्तित बनाएको भन्दै ६० वर्ष नाघेका, विभिन्न स्वास्थ्य समस्या भएका बिरामीहरू, डाइलसिस गराइरहेका बिरामीहरू, गर्भवतीहरूलाई घरबाहिर ननिस्कन उनले अनुरोध गरेका छन् । उनले लकडाउनले जनजिवनमा पारेको असहज परिस्थितीलाई सहज बनाउन संक्रमणको जोखिमकै विचमा विभिन्न सेवा सुविधा र व्यापार व्यवसाय सञ्चालन गरिए पनि मन्त्रालयले पालना गर्न भनेको स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना नगरेको बताए ।

नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले देशभर करिब एक हजार बढी स्वास्थ्यकर्मी संक्रमित भएको र राजधानी काठमाडौँमा मात्रै ६ सय बढी रहेको जानकारी दिएका छन् । उनकाअनुसार संक्रमण बद्दै जाँदा संक्रमित हुने स्वास्थ्यकर्मीहरुको संख्या पनि बढीरहेको छ ।कोरोनाबाट सबैभन्दा बढी मेडिकल डाक्टर प्रभावित भएको देखिएको छ ।

त्यसपछि नर्सिङ स्टाफ, पारामेडिक्स र अन्य प्रभावित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । स्वास्थ्यकर्मी र चिकित्सकहरुमा संक्रमण हुँदा अन्यलाई सार्ने सम्भावना धेरै हुने भएकोले उनिहरुलाई पर्याप्त मात्रामा स्वास्थ्य सुरक्षा सामग्री दिनुपर्ने चिकित्सक संघका अध्यक्ष कार्कीको भनाई छ । हालसम्म भइरहेका स्वास्थ्यकर्मीहरुले नै उपचार गरि रहेको भन्दै यस्तो अवस्था रहे जनशक्तिको अभाव हुन सक्ने अध्यक्ष कार्कीले बताएका छन् ।

वैशाख ३० गते नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको थियो । कपिलवस्तुको तौलिहवास्थित एक अस्पतालमा कार्यरत एक नर्समा कोरोना पुष्टि भएको थियो । तर हाल यो संख्या बढेर एक हजार बढी पुगेको छ । कोरोना महामारी लडाई जित्नको लागि स्वास्थ्यकर्मी र चिकित्सकहरु मुख्य पिलरको रुपमा रहेका छन् । तर यिनै पिलरहरु पछिल्लो समय संक्रमित हुँदै गइरहेका छन् । चिकित्सक संघका अध्यक्ष कार्कीले उनिहरुलाई जोगाउन नसके महामारीको लडाई जित्न असम्भव रहेको भन्दै सरकारले पनि उनिहरुलाई सुरक्षित राख्ने वातावण बनाइ दिनुपर्ने बताए । साथै उनले समाजले मनोवल बढाउने काम गर्न पनि आग्रह गरेका छन् ।

विशेषगरी स्वास्थ्यउपचारमै खटिने स्वास्थ्यकमीहरु संक्रमित हुँदा विरामी लगायत अन्यमा सर्ने जोखिम हुने भएको हुँदा पनि यसमा चिन्ता व्यक्त गरिएको हो । भने उनिहरु बिरामीसंग प्रत्यक्ष सम्पर्क रहने भएको हुँदा उनिहरुमा संक्रमणको जोखिम पनि उत्तिकै छ । यही कारणले समाजमा उनिहरु अपहेलित हुनु परेको घटना पनि घटेका छन् । तर कोरोना महामारीमा स्वास्थ्यकर्मी र चिकित्सकहरुको भुमिका नै महत्वपुर्ण रहने हुँदा उनिहरुको मनोवल बढाउन समाजका व्यक्तिहरुले राम्रो व्यवहार गर्न जरुरी छ ।

प्रतिक्रिया