अबदेखि एसिड आक्रमणबाट मुत्यु भएमा जन्म कैददेखि २० बर्ष कैद र १० लाखसम्मको जरिबाना

नेपालखोज २०७७ असोज ९ गते १९:१५

काठमाडौं । सरकारले एसिड आक्रमण गर्नेलाई कडा कार्वाही गर्नको लागि अध्यादेश ल्याएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारले अध्यादेश ल्याएको हो ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी गराएर एसिड आक्रमण गर्ने माथि बलियो कानुन ल्याउन लागेको हो । राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि अब एसिड आक्रमणबाट मुत्यु भएमा जन्म कैददेखि २० बर्ष कैद र १० लाखसम्मको जरिबाना हुनेछ ।

यस्तै दुवै आँखा जली वा क्षति भई पूर्ण रुपमा दृष्टि नष्ट भएमा, दुबै कानको जाली वा क्षति भई सुन्ने शक्ति पूर्ण रुपमा नष्ट भएमा, नाक जले वा क्षति भई काम नलाग्ने भएमा, अनुहार पूर्ण रुपमा जली वा क्षति भई कुरुप भएमा, महिला भए दुबै स्तन जली वा क्षति भई काम नलाग्ने भएमा वा कसैको यौनाङ्ग जली वा क्षति भई नासिएमा यस्तो गर्ने गराउनेलाई २० वर्ष कैद र १० लाख जरिवाना हुने अध्यादेशमा भनिएको छ ।

प्रधानमन्त्री ओलीसँगले भदौ २५ मा एसिड आक्रमणमा परेकाहरूसँग एसिड आक्रमण गर्ने विरुद्ध नयाँ कानुन ल्याउने बताएका थिए ।

सोही अनुरुप सरकारले अध्यादेश ल्याएर नयाँ कानुन ल्याएको हो । एसिड आक्रमणमा परेका पीडितको निःशुल्क उपचार गर्नेसम्म जिम्मा सरकारले लिने भएको छ ।

प्रतिक्रिया