शुक्रबार, वैशाख १४, २०८१

नागरिक लगानी कोषको योजनामा एनआईसी एशिया बैंक नियुक्त

नेपालखोज २०७७ असोज ११ गते १४:००

काठमाडौं । नागरिक लगानी कोषको ऐतिहासिक ‘नागरिक पेन्सन योजना’ मा एनआईसी एशिया बैंक एक्सक्लुसिब बैंकिक पार्टनर (Exclusive Banking Partner)  को रुपमा नियुक्त भएको छ । बैंक र कोषबीचको समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन् ।

उक्त योजना बचत गर्न प्रोत्साहित गर्ने, त्यस्तो बचतलाई देशको आर्थिक विकासमा परिचालन गर्ने र सक्रिय जीवनकालमा जम्मा गरेको रकमबाट बचतकर्ताको जीवनयापनलाई सहजीकरण गर्ने उद्देश्यले सुरु गरेको हो । ऐतिहासिक साझेदारी तथा योजनाले नेपालको आर्थिक रुपान्तरण र आम सर्वसाधरण नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने बैंकको विश्वास रहेको छ ।

‘जवानीमा कमाऔं, जमाऔं र बुढेसकालमा रमाऔं’ भन्ने नाराको साथ उक्त योजना ल्याईएको हो । यस पेन्सन योजना अन्तर्गत आय आर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक÷कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरू सहभागी हुन सक्न जनाएको छ । यस योजनाका सहभागीहरूले न्यूनतम मासिक रू. ५०० देखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा मासिक किस्ता रकम जम्मा गर्न सक्ने प्रावधान रहेको बैकले जानकारी दिए ।

यस बैंकका शाखाहरू तथा विस्तारित काउण्टरहरूबाट सहज रुपले देशका ग्रामीण भेगका रहेकाले समेत यस पेन्सन योजनामा सहभागी हुन सक्नेछन् । यस बैंकमा रहेको कोषको खातामा किस्ता रकम जम्मा गर्न सक्ने व्यवस्था सहित बैंकले छुट्टै भौचरको व्यवस्था गरिसकेको जनाएको छ । साथै बैंकले निकट भविष्यमा कोषसँगको सहकार्यमा विद्युतीय भुक्तानी सेवामार्फत नागरिक पेन्सन योजनाका सहभागीहरूले बैंक नै नगई जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइन माध्यमबाट किस्ता रकम भुक्तानी गर्न मिल्ने तयारी गरिरहेको जानकारी दिएको छ ।

बैंक र कोषबीच भएको समझदारीको अवसरमा सम्पूर्ण नेपाली नगारिकहरूलाई उक्त ऐतिहासिक पेन्सन योजनामा आबद्ध भई आफ्नो भविष्यलाई सुरक्षित गर्न बैंकले आग्रह गरेको छ ।

PR on tie up with Nagarik Lagani Kosh

 

 

 

प्रतिक्रिया