बामदेव विरुद्धको मुद्दा हेर्दा हेर्दैमा रोकियो, शुक्रबार सनुवाई हुने
काठमाडौं । दुई ठाउँबाट निर्वाचन हारेका नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनय गरिनु गैर कानुनी भएको भन्दै परेको मुद्दा हेर्दा हेर्दैमा रोकिएको छ । बुधबार पेशीमा रहेको बामदेवको मुद्धा हेर्दा हेर्दैमा वितेपछि आगामी शुक्रबार सुनुवाई हुने गरी सरेको छ ।
रिट निवेदक र विपक्षी दुबैपक्षबाट सर्वोच्च अदालतको संवैधानिक इजलासको पूर्ण इजलासमा बहस भए पनि अझै कानुन व्यवसायीहरुले बहस गर्ने क्रम नसकिएका कारण शुक्रबारसम्मलाई सरेको हो । सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले सुनुवाई नसकिएकाले शुक्रबारसम्म सरेको जानकारी दिए ।
बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, दिनेश त्रिपाठी, हरि उप्रेती, पंकज कर्णलगायतले बहस गरेका थिए । विपक्षी सरकारी पक्षबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरेका थिए ।
उक्त रिटमाथि यसअघि असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले बामदेवको पद यथास्थितिमा राख्न र उनलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।
नेकपा उपाध्यक्ष गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता त्रिपाठी र अधिवक्ता भट्टले उक्त मनोनय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया