सम्झनाका परिवारलाई १० लाख दिने सरकारको निर्णय
बझाङ । बझाङकी १२ वर्षीया बालिका सम्झना कामीका परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ। बझाङको मस्टा गाउँपालिका-२ खिकालाकी सम्झानाको बलात्कारपछि हत्या गरेको अवस्थामा गत साता मन्दीरमा शव फेला परेको थियो।
एक साता भइसक्दा पनि क्षतिपूर्ति र घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै आफन्तले शव बुझ्न मानेका थिएनन्। तर प्रहरीले बलात्कार तथा हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एक युवकलाई मंगलबार सार्वजनिक गरेको थियो। यस्तै जिल्ला प्रशासन कार्यालय बझाङले १० लाख रुपैयाँ तत्काल आर्थिक सहायता दिने भनेपछि परिवार शव बुझ्न तयार भएका हुन्।
गृह मन्त्रालयबाट १० लाख दिने जानकारी आएको बझाङका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले बताए। घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँका १९ वर्षीय राजेन्द्र बोहोरालाई प्रहरीले मंगलबार सार्वजनिक गरिसकेको छ। बोहोराले यसअघि पनि १३ वर्षीया बालिकालाई बलात्कार गरेको जाहेरी परेको छ। तर गत साउनमा भएको उक्त घटना स्थानीयले मिलापत्र गराएका थिए।
सम्झनाको घटनामा उनको संलग्नता रहेको आरोप लागेसँगै उक्त घटनाका पीडितको पनि जाहेरी परेको हो। गत बुधबार वस्तु बाँध्न घरभन्दा आधाघण्टा टाढा रहेको गोठमा गएकी सम्झना नफर्किएपछि परिवार र स्थानीयले खोजी गरेका थिए। त्यस क्रममा गोठ नजिकैको मन्दिरमा उनको शव फेला परेको थियो।

प्रतिक्रिया