भूकम्प स्मृति उद्यानले अन्तर्राष्ट्रिय महत्व राख्छ : सभामुख सापकोटा

नेपालखोज २०७७ असोज १६ गते ७:३९

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पबाट सबैभन्दा बढी क्षति ब्यहोरेको सिन्धुपाल्चोकमा निर्माण गरिने भूकम्प स्मृति उद्यानको काम यथाशीघ्र अघि बढाउन पहल गर्ने बताएका छन् ।

बिहीबार सदरमुकाम चौतारामा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत निर्माणको चरणमा रहेको भूकम्प स्मारक उद्यान समन्वय तथा सहजीकरणका लागि भएको बैठकमा उनले सो कुरा बताएका हुन् । उक्त स्मृति उद्यानका संरक्षकसमेत रहनुभएका सभामुख सापकोटाले राष्ट्रिय गौरवको आयोजना स्मृति उद्यान बनाउन कानूनी जटिलता हटाएर पूरा गरी छाड्ने प्रतिबद्वता जनाए । विधि, विधान निर्माण गर्ने सङ्घीय संसद्को नेतृत्व गरेको हिसाबले बैठकमा उपस्थित भएको सभामुख सापकोटाले बताए । “यो राष्ट्रिय गौरवको आयोजना हो, यसले अन्तर्राष्ट्रिय महत्व राख्छ”, सभामुख सापकोटाले भने, “यसकारण बैठकमा मेरो उपस्थिति आफैँमा अर्थपूर्ण छ ।”

समस्या निराकरणका लागि जोखिम आवश्यकता परे पनि दिन आफू तयार भएरै आएको उनले बताए । राम्रो काम गर्नका लागि कानूनी जटिलतामात्रै प्रधान नरहेको उनको जिकिर थियो । देशकै स्मरणयोग्य बनाउनका लागि केही क्षति भए पनि ब्यहोर्न तयार हुनपर्नेमा उनले जोड दिए । “हामीले थालेको महान कार्यलाई रोक्ने होइन कि त्यसलाई ठिक ढङ्गले निकास दिनुपर्छ”, सापकोटाले भने । उपाय कसरी निकाल्न सकिन्छ गहन छलफल गरेर निष्कर्ष निकाल्न उनले प्रमुख जिल्ला अधिकारीलगायतलाई निर्देशनसमेत दिएका छन् ।

स्मृति उद्यानको तत्कालीन वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटा र सांसद शेरबहादुर तामाङद्वारा विसं २०७३ वैशाख २९ गते शिलान्यास गरिएको थियो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ दारेगौँडा पानी ट्याङ्कीमा भगवती सामुदायिक वन क्षेत्रको ४२ हजार १०८ वर्गमिटर क्षेत्रमा बन्ने गरी शिलान्यास भएको हो ।

निर्माण समन्वय र सहजीकरण समिति गठनसमेत भएर निर्माण शुरु भएको भनिएको उद्यान पाँच वर्ष बितिसक्दासमेत योजनामै थन्किएको छ । रु ४९ करोड ९३ लाख १६ हजार ५२४ को लागत अनुमान र उद्यानको डिपिआरसमेत सम्पन्न गरी पुनःनिर्माण प्राधिकरणबाट रु एक करोड स्वीकृत भई घेराबार लगाइएको थियो ।

प्रतिक्रिया