टुरिष्ट बस एसोसिएसन अफ नेपालका सम्पूर्ण बसको टिकट अनलाइन मार्फत बुकिङ्ग गर्न सकिने
काठमाडौं । नेपालमा नै पहिलो पटक टुरिष्ट यातायात व्यवसायीहरुले अनलाइन सिस्टमबाट पर्यटक सार्वजनिक यातायात सेवाको टिकट उपलब्ध गराउने भएका छन् । टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिबान) ले आफ्ना सम्पूर्ण बसहरुको टिकट अनलाइनमार्फत बिक्री गर्ने उद्धेश्यका साथ इलेक्ट्रोनिक्स कन्सर्न एण्ड रिसर्च सेन्टर (ईसीआरसी) प्रालिसँग सम्झौता गरेको हो ।
एसोसिएसनले ईसीआरसी सँगको सम्झौतापछि आफ्ना नेपालभर संचालन हुने टुरिष्ट बसहरुको टिकट अनलाइनमार्फत नै बुकिङ्ग गरि बिक्री गर्न सक्नेछ । बिहिबार एक कार्यक्रममा टिबानका अध्यक्ष ईश्वर प्रसाद उपाध्याय तथा ईसीआरसीका अध्यक्ष संजीत पौडेलबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापछि टिबानमा आबद्ध कम्पनीका पर्यटन सार्वजनिक यातायातको रुपमा संचालनमा रहेका सवारी साधनहरुको टिकट अनलाइन तथा एपबाटै बुकिङ्ग गर्न सकिनेछ । पछिल्लो दिनमा कोभिड १९ को महामारीले गर्दा नेपालको पर्यटन सेवा संकटग्रस्त भएको सन्दर्भमा यात्रुहरुलाई सुरक्षित र सहज रुपमा पर्यटन सार्वजनिक यातायातका साधनहरु उपलब्ध गराउने उद्धेश्यका साथ यो सम्झौता भएको हो ।
‘हाम्रो एसोसिएसन अन्र्तगत संचालनमा रहेका सम्पूर्ण पर्यटन सार्वजनिक यातायातका साधनहरु सरकारी मापदण्डअनुसार स्वास्थ्य प्रोटोकल पालना गर्दै संचालन गरिरहेका छौं र सम्झौतापछि अनलाइनबाटै टुरिष्ट बसको टिकट उपलब्ध गराउनेछौं, टिबानका अध्यक्ष उपाध्यायले भने । कोभिड १९ पछि सम्पूर्ण सेवाहरु अनलाइनमा गईरहेको सन्दर्भमा पयर्टन सेवापनि अनलाइनमा आधारित भएर भरपर्दो र विश्वसनिय सेवा दिन तयार भएको संदेश दिन चाहेको उनले बताए ।
‘हरेक सेवाहरु अनलाइनमा आधारित भईरहेको बेला अब टुरिष्ट बसको सेवा पनि डिजिटलमा गएको छ, सम्झौतापछि यात्रुहरुलाई सहज रुपमा भरपर्दो सेवा सूपथ मूल्यमा डिजिटल प्रविधिमार्फत उपलब्ध गराउन सकिनेछ, ईसीआरसीका अध्यक्ष संजीत पौडेलले भने । एसोसिएसनले यात्रु तथा पर्यटकहरुलाई आवश्यकता अनुसार विभिन्न स्थानह?मा जानका लागि पर्यटन सार्वजनिक यातायात सेवा उपलब्ध गराउँदै आएको छ ।
सम्झौताअनुसार दशैंको लागि टिबानका पर्यटक सार्वजनिक यातायातका साधनह?को अग्रिम बुकिङ्ग अनलाइन सिस्टममार्फत शुरु गरिनेछ । शुरुवाती चरणमा पर्यटक सार्वजनिक यातायातको सेवा काठमाडौंदेखि पोखरा, नारायणघाट, लुम्बिनी, जनकपुरमा उपलब्ध हुनेछ भने क्रमशः अन्य शहरहरुमा पनि सेवा बिस्तार गरिनेछ ।

प्रतिक्रिया