रुपन्देही खानेपानी कार्यालयका प्रमुख ८ लाख घुस सहित अख्तियारको नियन्त्रणमा
काठमाडौं । सेवाग्राहीसँग लिएको ८ लाख घुस सहित नेपाल खानेपानी संस्थान बुटवल कार्यालयका प्रमुख सन्तोष साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
गोप्य सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लु १ ञ ९५ नम्वरको गाडीमा बुटवलबाट काठमाडौं आईरहेका शाहलाई घुस रकम सहित धार्दिङको खानीखोलाबाट नियन्त्रणमा लिएको हो ।
शाहलाई विभिन्न वैकमा रकम जम्मा गरेको भौचरहरु, हिसाब किताबको अभिलेख रहेको सेतो कागजको टुक्रा (चिट), चेकबुक, भीजा कार्ड, डायरी तथा मोबाइल सहित पक्राउ गरेको छ ।
पक्राउ परेका शाहको अनुसन्धानको सिलसिलामा रूपन्देही जिल्ला बुटवल उप–महानगरपालिकास्थित मिलनचोक देखी जोगीकुटी सम्म र देबीनगर क्षेत्रभित्र पाइप लाइन बिस्तारको ठेक्का अनिता निर्माण सेवालाई दिलाइ दिएबापत साहले सेवाग्राही अनिता निर्माण सेवाको सञ्चालिका शान्ति रानाबाट रकम माग गरेकोमा शान्ति रानाले अनिता निर्माण सेवाको खाताबाट रु.८ लाख २२ हजार रकम सन्तोष साहको बाबु राम नारायण साहु सुडीको कृषि विकास बैकको खातामा कमिसनबापत जम्मा गरेको र सो रकम निकाली लिए खाएको पुष्टि हुन आएको छ ।
साहले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० र दफा ६ बमोजिमसमेतको भ्रष्टाचारजन्य कसुर भएको निर्विवाद रूपमा पुष्टि हुन आएकोले निज आरोपित इन्जिनियर सन्तोष साहलाई बिगो रु.८ लाख २२ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम जरिबाना र कैद सजाय हुन साथै घुस बापतको रकम रु.८ लाख २२ हजार सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम निज आरोपित सन्तोष साहबाट जफत हुन समेत मागदाबी लिइएको छ ।
प्रतिक्रिया