सोमबार, वैशाख १५, २०८२

बेहोस होला जस्तो भए मात्रै अस्पताल जानुस् : स्वास्थ्य मन्त्रालय

नेपालखोज २०७७ असोज २२ गते ५:५२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमा सामान्य समस्या देखिने बित्तिकै अस्पताल जाने प्रवृत्ति बढेको भन्दै स्वास फेर्न गाह्रो भएमा, बेहोस होला जस्तो भएमा, पिसाब नभएमा वा कम भएको अवस्थामा मात्रै अस्पताल जान अनुरोध गरेको छ ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सामान्य रुघाखोकी र ज्वरो आउँदैमा अस्पताल जाने क्रम बढेकाले पनि अस्पतालको व्यवस्थापनमा समस्या भएको बताए ।

‘सामान्य रुघाखोकी, ज्वरो आउँदैमा अस्पताल जाने क्रम बढेको छ । कुनैपनि बिरामीलाई स्वास फेर्न गाह्रो भएमा, बेहोस या होला जस्तो भएमा, पिसाब नभएमा वा कम भएमा मात्र अस्पताल जन अनुरोध छ’, गौतमले भने ।

उनले काठमाडौं उपत्यकामा अप्रत्यासित रुपमा संक्रमित थपिएको भन्दै उपचारमा चुनौती थपिएको प्रेस ब्रिफिङमा जानकारी दिए । उनले संक्रमण थप बढ्दै गए अस्पतालले यो भार थाम्न नसक्ने बताउँदै कोरोना नियन्त्रणमा स्वयम् नागरिक जागरुक हुनुपर्नेमा जोड दिए ।
‘अस्वाभाविक रुपमा सार्वजनिक स्थानमा बढेको भिडभाड, दुरी कायम नहुनु र हात सफाइ नहुनु जस्ता कारणले अप्रत्यासित संक्रमण बढ्यो’, गौतमको भनाइ छ ।

उनले चाडबाड नजिकिँदै गर्दा बजारमा कोरोना नै नभए जसरी भिडभाड बढेको बताउँदै भने, ‘चाडबाडको नजिकमा बजारको भिड देख्दा कोराना बिर्सिएको हो कि भन्ने लाग्न थालेको छ । आफू बच्न र बचाउन भिडभाड नगरौँ । बाहिर निस्कँदा मास्कको प्रयोग गरौँ । साबुन या सेनिटाइजरको प्रयोग गरौँ । दुई मिटरको दुरी कायम गरौँ ।’

प्रतिक्रिया