आत्मनिर्भरतासँगै समग्र देशको विकासमा प्राविधिक शिक्षा : एनआरएनए

नेपालखोज २०७७ असोज २५ गते ९:४२

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा शुक्रबार आयोजित प्राविधिक तथा व्यवसायीक शिक्षा विषयक कार्यक्रममा विभिन्न विद्याका विज्ञहरुले धारणा राखेका छन् ।

प्राविधिक तथा व्यवसायीक शिक्षाको उपलब्धताले सम्मानजनक रोजगारी सिर्जनामा भई समग्र देश विकासमा समेत टेवा पुग्ने अधिकांशको धारणा थियो । कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगकी सदस्य उषा झाले प्राविधिक तथा व्यवसायीक शिक्षाको महत्वलाई मनन् गर्दै आयोगले यो विषयलाई प्राथमिकताका साथ लिएको बताईन् । ‘सरकारले पनि पछिल्लो समय प्राविधिक शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ । हामी पनि यो विषयमा निकै संवेदनशील छौँ,’ उनले भनिन् ।

नेपाललेले योजनाबद्ध विकासको लक्ष्य अघि सारेकाले यसमा पनि प्राविधिक तथा व्यवसायीक शिक्षाले निकै महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले समग्र विश्वको विकास पनि प्राविधिक शिक्षा बिना सम्भव नरहेको उल्लेख गरिन । कार्यक्रममा बोल्दै लक्ष्मी बैंक तथा प्राइमलाईफ इस्योरेन्सका अध्यक्ष समेत रहेका नेपाल ब्रिटेन चेम्बर अफ कर्मश एण्ड इन्डस्ट्रिजका अध्यक्ष राजेन्द्र खेतानले प्राविधिक तथा व्यवसायीक शिक्षा निकै सान्दर्भक भएको बताए ।

सैदान्तिक शिक्षाको तुलनामा व्यवसायीक तथा प्राविधिक शिक्षाले सीप विकास गरी आत्मनिर्भर बन्न मद्धत गर्छ । साथै यसले जीवन स्तर सुधार गर्दै आर्थिक विकासमा पनि टेवा पुयाउँछ,’ उनले भने ‘यदि तपाइँले कसैलाई तालिम दिनु भयो भने त्यो तालिम काम खोजिरहेकाहरुका लागि मात्रै महत्वपूर्ण हुँदैन यो समग्र उद्यमीहरु तथा राष्ट्रका लागि महत्वपूर्ण हुन्छ ।’

सीपयुक्त जनशक्तिबाट हुने गुणस्तरीय उत्पादनले समग्र क्षेत्रको विकासमा टेवा पुगि मुलुक आर्थिक उन्नतीतर्फ अग्रसर हुने उनको भनाई थियो । अहिले समग्र विश्वको विकास व्यवसायीक तथा प्राविधिक शिक्षाकै कारण सम्भव भएको उनले जोड दिए । नेपालमा पनि प्राविधिक शिक्षाले विस्तारै स्थान पाउँदै गएता पनि अध्ययन, अनुसन्धान, पहुँच तथा अनुगमनको अभावमा गुणस्तरीय हुन नसकेको भन्दै उनले दुुख व्यक्त गरे ।

कार्यक्रममा आफ्नो धारणा राख्दै कोलम्बो प्लान स्टाफ कलेजका डिरेक्टर जनरल डा. रामहरी लामिछानेले विश्व श्रम बजारमा नयाँनयाँ फरक किसिमका सीपहरुको माग बढेको बताए । तर नेपालका पाठ्यक्रम सैदान्तिक शिक्षामा आधारित रहेकाले पाठ्यक्रम नै संशोधन गर्न आबश्यक रहेको उनले औल्याए ।

प्रतिक्रिया