रुपन्देहीका चार र चितवनका थप एक गरि ५ जना कोरोना संक्रमितको मृत्यु

नेपालखोज २०७७ असोज २५ गते १०:१३

बुटवल । कोरोना भाइरस संक्रमणका कारण रुपन्देहीका चार र चितवनका थप एक गरि ५ जनाको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बुटवलमा उपचार गरिरहेका र उपचारका लागि अस्पताल जाँदै गर्दा गएराति चार जनाको ज्यान गएको हो।

मृतक तीन जना बुटवल र एक जना तिलोत्तमा नगरपालिकाका हुन्। धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा सम्पर्कमा आएका ३ जनाको ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ। एक जनाको दाङको बेलझुण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

अस्पतालले दिएको जानकारी अनुसार बुटवल ११ का ८४ वर्षीय पुरुषको रुपन्देहीका अस्पतालमा आईसीयू बेड खाली नभएपछि दाङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ। शनिबार स्वास्थ्यमा समस्या देखिएर लुम्बिनी प्रादेशिक अस्पताल पुगेका उनको शनिबार नै कोरोना पुष्टि भएको थियो।

बिरामीको अवस्था जटिल रहेकाले लम्विनी अस्पतालले आईसीयू अनिवार्य भएपछि दाङ रेफर गरेकोमा धानखोला पुग्दा उनको मृत्यु भएको थियो। त्यसैगरी गत असोज २२ कोरोना पुष्टि भएर २४ गतेदेखि कोरोना विशेष अस्पतालमा भर्ना रहेका ७० वर्षीय पुरुषको शनिबार राती ९ः५५ मा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए। उनी गत २२ गतेदेखि कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका थिए।

बुटवलमा मध्यराति २ बजे बुटवल ११ की ६१ वर्षीया महिलाको पनि मृत्यु भएको छ। गत असोज २१ गते कोरोना पुष्टि भएर कोरोना विशेष अस्पतालमा भर्ना भएकी महिलाको मध्यराति २ बजे मृत्यु भएको डा. गौतमले बताए। दाङको बेलझुण्डी अस्पतालमा शनिबार बिहान एक महिलाको निधन भएको थियो। उनी रुपन्देही तिलोत्तमाकी हुन्। रुपन्देहीका अस्पतालमा अहिले आइसियु खाली छैन्।

त्यस्तै, चितवनमा थप एक जना संक्रमितको मृत्यु भएको छ। भरतपुर महानगरपालिका-१ निवासी ७५ वर्षीया महिलाको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो।  दम, उच्च रक्तचाप र निमोनियासम्बन्धि समस्या भई असोज २२ गते अस्पताल भर्ना भएकी उनको असोज २३ गते पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो।

अस्पतालको कोभिड सघन उपचार कक्षमा राखेर उपचार भईरहेको समयमा आज बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ। योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ।

प्रतिक्रिया