शुक्रबार, वैशाख ७, २०८१

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड

नेपालखोज २०७७ असोज २९ गते १३:१६

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको आईपीओ शुक्रबार बिहान बाँडफाँड हुने भएको छ । इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार इन्स्योरेन्सको आईपीओ शुक्रबार बिहान साढे ८ बजे क्यापिटलको कार्यालयमा बबरमहल काठमाण्डौंमा बाँडफाँड हुने भएको हो ।

आईपीओ बाँडफाँडका लागि क्यापिटलले प्रि अलटमेन्ट गरी स्वीकृतीका लागि नेपाल धितोपत्र बोर्डमा पठाइसकेको छ । बोर्डबाट स्वीकृति पछि भोलि बिहान बाँडफाँड गरिने क्यापिटलले जनाएको छ । इन्स्योरेन्सको आईपीओमा आवेदक गरेका १०० जनामध्ये ६९ जनाले शेयर नपाउने अवस्था देखिएको छ । १०० जनामध्ये ३१ जना आवेदकले मात्र शेयर पाउने तथ्याङ्क आएको छ । हालसम्मकै उच्च संख्याबाट आवेदक परेर रेकर्ड ब्रेक भएपछि न्यून संख्यामा मात्र शेयर पाउने भएका हुन् । आईपीओमा ८ लाख ८३ हजार ६२४ जनाले आवेदन गरेका छन् ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार कम्पनीको आईपीओ २ लाख ७३ हजार जनाले गोलाप्रथाबाट १० कित्ताका दरले मात्र हात पार्नेछन् । यस आईपीओमा आवेदकन गरेका बाँकी ६ लाख १० हजार ६२४ जनाको हात भने खाली हुने देखिन्छ । कूल ३० लाख कित्ता आईपीओ जारी गरेको कम्पनीले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर २७ लाख ३० हजार कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो । जसमा मागको ६।९९ गुणा धेरै अर्थात १ करोड ९० लाख ९१ हजार ८० कित्ताको आवेदन परेको हो ।

कम्पनीले असोज २१ गतेदेखि २५ गतेसम्म १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । जसमध्ये १ लाख २० हजार कित्ता शेयर कम्पनीका कर्मचारीको र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका इकाईहरुका लागि लागि छुट्याएको थियो । बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बाँडफाँड हुनेछ । आईपीओ बाँडफाँड पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब पुग्नेछ भने संस्थापक साधारण शेयर अनुपात ७०ः३० कायम हुनेछ । इन्स्योरेन्सको आईपीओलाई क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ नेपालले औसत जोखिम जनाउने केयर एनपीबीबी प्लस’ रेटिङ दिएको छ ।

प्रतिक्रिया