बिहीबार, वैशाख १३, २०८१

एकीकृत राष्ट्रिय शक्तिका प्रतीक

जानकी निरौला २०७७ कार्तिक १ गते १९:११

कोरोनाको महामारी बीच आजबाट दशैंको चाड शुरु भएको छ । दशैंलाई नेपालीहरुको प्रमुख चाडपर्वका रुपमा मनाइँदै आइएको छ । साथसाथै यस पर्वको विरोधमा आवाजहरु पनि घन्किदै आएका छन् । कयौं जातीय समुदायहरुले दशैंलाई ब्राम्हण तथा क्षेत्रीहरुको चाड भएको र आफ्नो चाड नभएको भनि आएको पाइन्छ । यदाकदा विभिन्न चाडपर्वकै निहुँमा कटुतापूर्ण अभिव्यक्ति पनि प्रकट भएको पाइन्छ ।

चाडपर्व मान्ने वा नमान्ने व्यक्ति वा समुदायको इच्छा र स्वतन्त्र छनोटको कुरा हो । कसैले यस्ता कुरामा कसैलाई जवर्जस्ती गर्ने वा करकापमा पार्ने कार्य गर्न हुँदैन । संविधानले नै यो अधिकार हरेक व्यक्ति वा समुदायलाई दिएको छ । यस अधिकारको सम्मान गर्ने र संरक्षण गर्ने दायित्व राज्यको हो । शुरुका दिनमा १५ दिन दिइने दशैं विदालाई छोट्याएर पाँच दिनमा सीमित गरिएको र अन्य धर्मावलम्बीका चाडपर्वमा पनि विदा दिने गरिएको अभ्यासलाई यस सन्दर्भमा पनि जोड्न सकिन्छ ।

नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त देश भएको कुरा स्वयं संविधानले नै आत्मसात गरेको अवस्थामा यस प्रकारको अभिमत प्रकट हुनु नितान्त स्वाभाविक हो, कुनै नौलो कुरा होइन । पहिले–पहिले आम संचारको विकास तीव्र नहुँदा यस्ता विचारहरु प्रकट भएपनि बाहिर कमै आउथे, सवैको जानकारीमा आउदैन थिए । तर अहिले यस्ता अभिमत प्रकट हुँदा र क्षणभरमा नै हामी सामु आउदा हामीमध्ये कतिपयलाई असहज लागेको हुनसक्छ । तर यसलाई समाज विकासको सामान्य प्रक्रियाको रुपमा लिनु पर्दछ । किनभने प्रत्येक जातिको आ आफ्नै चाडपर्व, रीतिरिवाज र सामाजिक मूल्य मान्यताहरु रहेका हुन्छन्, जुन त्यो जाति वा समुदायको विशिष्ट पहिचानको आधार हुन् । ती आधारहरुको जगेर्ना गर्न सकिएमा मात्र विविधतामा एकता हुन गई बृहद राष्ट्रिय एकता संरक्षण र प्रवद्र्धन हुन सक्दछ । दशैं नमनाउने भन्ने भावना प्रति दुःखी नभइ त्यो समुदायको छनोटलाई सम्मान गर्न सकिएमा मात्र यस्तो सामाजिक सदभाव र एकता सुदृढ हुन्छ ।

सरकारले दशैं विदा कटौती गर्यो भन्ने गुनासो पनि सुनिन्छ । तर, त्यो गुनासो जायज होइन, सरकार सवैको साझा हो, यसले सवैका भावनाको कदर गर्नैपर्छ । वास्तवमा भन्ने हो भने सरकार त छुट्टीमा बस्नै मिल्दैन र बसेको पनि हुँदैन, सरकार त निरन्तर सुरक्षा र सेवाको प्रतीक हो, संरक्षकहरुका पनि संरक्षक हो । आपतकालीन सेवा र सुरक्षामा आलोपालो गरी कर्मचारी खटाई कार्य हुदै आएका पनि छ ।

संचार प्रविधिले एउटा गाउँ झै भएको विश्वमा यता त राति छ, भोली काम गरेपनि हुन्छ भन्ने वा उता त राती छ, अहिले नै किन गर्ने भन्ने जस्ता छूट प्रविधिले दिएको छैन, चौविसै घण्टा कार्य सुचारु गर्नुपर्ने बाध्यतामा हामी छांै । यस्तो परिवेशमा कुनै चाड विशेषको लागि विदा कम भयो भन्ने तर्कको कुनै सार्थकता छैन । साथै दशैं नमनाउनेहरुले पनि दशैं मनाएको प्रति वैमनस्यता देखाउनु हुँदैन । आ–आफनो चाडपर्व आ–आफ्नै तरिकाले मनाए भैगो ।

यस सन्दर्भमा एक ऐतिहासिक घटना सस्मरण गर्न सकिन्छ । पृथ्वीनारायण शाहले कान्तिपुरमा आक्रमण गरेको दिन ईन्द्रजात्राको दिन थियो । जात्राको रमाइलो बीच राज्यको सुरक्षामा ध्यान कम गएको मौकामा पृथ्वीनारायण शाहको फौजले आक्रमण गरी विजय हासिल गरेको थियो । त्यस बेलामा विदेशी शक्तिले आक्रमण गरेको भए संभवत स्वतन्त्र नेपालको कल्पना नै हुने थिएन । नेपाल भित्रैका राजाको विजय भएकोले हामीले परतन्त्र सहनु परेन । अर्कोतिर काठमाण्डौंका स्थानीय समुदायहरुले सो दिनलाई पराजयको कालो दिनका रुपमा कहिल्यै लिएनन्, बरु परम्पराको निरन्तरतालाई नै गौरवको प्रतीक मान्दै आए । यसबाट आज आएर ईन्द्रजात्रा एक महत्वपूर्ण राष्ट्रिय जात्रा बन्न गएको छ ।

मलाइ लाग्छ चाडपर्व त्यस प्रकारले मनाउन नै हुँदैन, जसबाट पर्वको माहोल नै विनासको कारक होस् । झन सरकार त यसप्रति अति नै चनाखो रहनु पर्दछ । नेपाली समाजको जातिय बनोटले नै सरकारलाई यो अवसर दिएको छ जसमा एउटा जातिले पर्व मनाइ रहदा अर्को जाति निसंकोच कार्यालयमा अहोरात्र खटिन सक्छ । कमै देशहरुलाई मात्रै यस्तो अनेकता भित्रको ठूलो शक्तिको सुविधा छ । विश्वका धेरै देशहरुमा विदा हँुदा सर्वत्र हुने, नहुँदा कतै नहुने अवस्था छ । त्यसै भएर विश्वभर विविधता स्वयंलाई नै एक प्रमुख शक्तिको रुपमा लिइएको पाइन्छ । अमेरिका, अष्टे«लिया जस्ता देशहरुको उदार आप्रवाशन नीति लिई समाजको बनोटलाई क्रमशः विविधतायुक्त बनाउदै लगेकोबाट पनि यस कुराको महत्व आंकलन गर्न सकिन्छ ।

त्यसैले जुन कुरालाई हामीले समस्या वा विग्रहको कारक ठानेका छौं, त्यो केवल हाम्रो अल्पदृष्टि हो, साँघुरो सोच हो । यस्तो संकीर्णताबाट माथि उठन नसके हामीले विविधता भित्र रहेको शक्तिलाई चिन्न र त्यसको बलमा समाजलाई अघि बढाउन सक्दैनौं, बरु यसबाट समाज अझ बढी द्वन्द्वतिर धकेलिन पुग्दछ । यस वर्ष आउन लागेको दशैं, तिहार, म्हपूजा, छठ, उधौली, ल्होछारलगायतका पर्वहरुले हामीलाई पुनः एकपटक हामी भित्रको यस असीम शक्तिलाई आत्मसात गरी राष्ट्र निर्माणमा लागिरहने हौसला प्रदान गरुन् भन्ने कामना गर्दछु ।

प्रतिक्रिया