सोमबार, वैशाख १७, २०८१

भिड सधैं सही नै हुन्छ र ?

सुनील सापकोटा २०७८ पुष १४ गते १७:४८

हिन्दीमा एउटा उखान छ , ‘जो जिता वही सिकन्दर’ जसको अर्थ हुन्छ, जसले जित्छ, त्यसले नै राज गर्छ वा त्यो नै प्रमुख हुन्छ । उसैको सत्ता हुन्छ र उसैको बोली बिक्छ, उही साँचो ठहरिने चलन दुनियाँमा छ ।

तर के विजेताले गरेको हरेक कर्महरु उचित नै हुन्छन् ? के भिड सधैं सहि नै हुन्छ ? यो एउटा कथा भएपनि हाम्रो महाभारतकै कुरा गर्दा पनि के कौरवहरुका लागि द्रौपदीको चीर हरण न्याय सम्मत थियो ? त्यो बेला भिड दुर्योधनको साथमा थियो । सभामा उपस्थित सबै चुप थिए । त्यो बेला सभामा दुर्योधनका दुई भाइ विन्दु र विकर्णले मात्र चीर हरण गलत हो भनि विरोध जनाएका थिए ।

त्यो सभामा उपस्थित उनानब्बे प्रतिशत दुर्योधनको पक्षमा थिए । यो कथा पढ्दा मलाई लाग्छ कहिलेकाँही भिड र जितले पनि मानिसको विवेकलाई नस्ट गर्छ ।

जुवामा दुर्योधनको विवेक त्यो बेला जितको नशामा नस्ट भएको पाइन्छ । प्रायः विजयी व्यक्ति विवेकहीन हुने प्रवल सम्भावना रहन्छ । महाभारतले यो कुरा बताउँछ । यदी महाभारतको युद्धमा कौरवहरुले जितेका भए के चिरहरण जायज हुन्नथ्यो र ? मलाई लाग्छ हुँदैनथ्यो।

मानिसहरु लगातारको जीतमा प्रायः अहंकारी हुन्छन्, उन्मादमा रहन्छन् । कंस जस्तो वा मुसलमान राजा औरंजेव जस्तो जसले आफ्नो पितालाई जेलमा कोचेर राज गद्दी लियो । इतिहासले पनि यही बताउँछ हामीलाई । अर्को कुरा, महाभारतमा नै अभिमन्युलाई घेरेर मार्ने भिड के सहि थियो ?

जबकी युद्धमा पाण्डवभन्दा कौरवहरुको संख्या बढी थियो। रामायणमै पनि लंकाको शक्तिशाली राजा रावणले अर्काको श्रीमती सीतालाई हरेर लानु के उचित थियो ? जबकि त्यो बेला भिड रावणको साथमा थियो, उ शक्तिशाली पनि थियो । अर्को एउटा विश्व विख्यात उदाहरण ग्रीक इतिहासबाट पनि लिन सकिन्छ । एथेन्समा सुकरात माथी मुद्दा चल्यो । उनी माथी आरोप लाग्यो कि उनी आफ्नो विचार द्वारा राज्यका जनतालाई संविधानको बाटोमा हिंड्न् भटकाई रहेछन् ।

त्यहाँ पनि लोकतन्त्र नै थियो । सुकरातको पक्षमा २२० मत पर्‍यो भने उनको विपक्षमा परेको २८१ मतले उनलाई अपराधी बनायो र मृत्युदण्डको सजाए सुनायो । अर्थात ६१ कम मतको भिडबाट उनी मृत्युदण्डको भागी हुन पुगे । एउटा सानो भिडको कारणले गर्दा दुनियाँलाई एउटा नयाँ विचार दिने व्यक्तिलाई समाप्त पारियो ।

भिडले त पृथ्वी गोलो छ भन्नेलाई पनि मारेका हुन् । बहुमतले त ग्यालेलीयोलाई चुपचाप बस्न दबाब दियो, कर लगायो । भिडतन्त्रको विवेकहीनतामा कयौं गल्तीहरु हाम्रै देश नेपालमा पनि धेरै भए । अहिले पनि भइरहेको छ । भिडको समर्थनले मानिस हिटलर बन्न सक्छ । त्यसैले भिड र जित नै सबै कुरा होइन ।

बहुसंख्यकले बोलेको, गरेको कामकुराहरु पनि सधैं सत्य हुँदैन । हरेक ब्यक्तिले आफ्नो बुद्धि र विवेक पनि लगाउनुपर्छ । यो नै एउटा नागरिकको कर्तव्य पनि हो । भिडसँग डराउनु हुँदैन । शक्तिशालीसँग पनि भयभित हुनु हुँदैन ।

हाम्रो देशमा अचेल जहाँ पनि भिडतन्त्र हावी हुँदै गैरहेकोछ । देशका बारेमा लागेको सत्य बोल्न खोज्दा, केहि लेख्न र केही गर्न खोज्दा इमानदार र नैतिक मानिसहरूलाई गाह्रो परिरहेको छ । उनीहरु सत्य बोल्न डराइ रहेका छन् । यद्यपि आजको यो ग्लोबलाइजेसनको युगमा पहिलेको जस्तो ‘जो जीता वही सिकन्दर पक्कै नहोला ।’

प्रतिक्रिया